Breaking News

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक ‘बर्खास्त’

By peoplesdailynepal

August 15, 2018

काठमाडौं – सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार राती सम्पन्न मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनीमाथि सही ढंगले कार्यसम्पादन गर्न नसकेको आरोप लागेको थियो भने गत शुक्रबार बसेको क्याबिनेट बैठकले ७२ घण्टे स्पष्टिकरण नै सोधेको थियो । उनी २०७३ असोजमा टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् ।

बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय पनि गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, हरि फुयाँल, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादवलाई तीन वर्षका निम्ति नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको बाँस्कोटाले बताए ।

बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा नियन्त्रक सुरेश प्रधानलाई तोक्नुका साथै मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि बूढानीलकण्ठ क्षेत्रको नौ आना जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।