Breaking News

सांसद राजीव पहारीको अभिब्यक्तिको पोखरामा कडा विरोध

By peoplesdailynepal

October 13, 2018

पोखरा, असोज २७ । सांसद राजीव पहारीले केही दिनअघि पोखराको पुम्दीभुम्दीमा बलात्कारपछि हत्या गरिएकी १० बार्षिया बालिका श्रेया सुनारको परिवारलाई भेटे । पारिवारिक अवस्था देखेर मन थाम्नै सकेनन् र भने–अपराधीलाई मृत्युदण्ड दिने कानुन बनाउन संसदमा दवाव दिन्छु । सोही बेला उनले १० हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेका थिए ।

तर पहारीले बोलेको त्यही कुरालाई लिएर अधिकारकर्मीहरुले विरोध गरेका छन् । एमनेस्टी इन्टरनेसनल नेपाल समूह ८२ ले मृत्युदण्ड विरुद्ध आवाज उठाएको हो । शुक्रबार आयोजित सभामा एमनेस्टीका संयोजक हेरम्बप्रसाद कोइरालाले दण्डको विभिन्न प्रकृति भएको भन्दै अन्तराष्ट्रियरुपमै हटाउँदै आएको मृत्युदण्डको सजाय नेपालमा आवश्यक नभएको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले मानवको बाँच्न पाउने अधिकार कसैले खोस्न नहुने धारणा राखेका थिए । कार्यक्रममा एम्नेस्टीका पूर्व संयोजक देवमणि भण्डारीले मानवीय संवेदनामा कसैले खेल्न नहुने बताए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले पुँजीवादले यौजघन्य हिंसा बढेको भन्नु, प्रदेश सांसद राजीव पहारीले मृत्युदण्डको कानुन बनाउनुपर्छ भन्नु, संघीय संसदमा मृत्युदण्डको सजाँयमा बहस हुनु नकारात्मक पक्ष भएको भन्दै एम्नेस्टीले कडा विरोध जनाएको छ । विश्वमा हट्दै गएको मृत्युदण्डको कानुन नेपालमा बहसमा नै आउनु आवश्यक नभएको उनीहरुको भनाई छ ।

संविधानमा भएको दण्ड कानुन परिमार्जन गरी आजीवन काराबासको सजाएँ बनाउन समूहले सुझाव दिएको छ । विश्वव्यापी घोषणापत्र १९४८ पक्ष राष्ट्र नेपालले महासन्धीको धारा ३ मा जीवनको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी गरेको स्मरण गर्दै अन्तराष्ट्रियरुपमा नेपाललाई फेल गराउने षड्यन्त्रको समूहले विरोध गरेको छ । विश्वको विभिन्न मुलुकमध्ये २९ वटा देशमा मृत्युदण्डको सजायँ कानुन हटाउने क्रममा रहेको समूहले जानकारी दिएको छ । -dnanepal.com बाट