Breaking News

निर्मला पन्तका बाबुमाथि हातपातसहित ज्यान मार्ने धम्की

By peoplesdailynepal

November 02, 2018

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुलाई ज्यान मार्ने धम्की आएको छ । कात्र्तिक १४ गते राति महेन्द्रनगर सदरमुकामबाट घर फर्किने क्रममा अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।

प्रदेश ७ का मुख्यमन्त्रीलाई छोरीको हत्यारालाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएर घर फर्किने क्रममा निर्मलाका बाबु यज्ञराज पन्तसहित ६ जना महेन्द्रनगरमा जारी रामलिला हेर्न गएका थिए । राति ११ बजेतिर रामलिला हेरेर घर फर्किने क्रममा यज्ञराजमाथि अपरिचति व्यक्तिले हातपात गरेका हुन् ।

‘राति ११ बजेतिर रामलिला हेरेर म, मेरो श्रीमती लगायत ६ जना घर गईरहेका थियौं । ट्राफिक चोक नजिकै पुग्दा ति अपरिचत व्यक्ति पनि हामीहरुलाई पछ्याउँदै आए । अनि टर्च किन बालेको भन्दै उनले अपशब्द गाली गरे । गाली गर्दै उनले म माथि हातपात गरे’ निर्मलाका बाबुले भने ।

हातपात गर्दै ति व्यक्तिले ‘तलाई चिनेको छुँ । तेरो ज्यान खतरामा छ’ भन्दै भागेको यज्ञराजको भनाई छ । हातपात गर्ने र ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध वडा प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएका छन् । उनले आफ्नो सुरक्षा र धम्की दिनेलाई पक्राउको माग गर्दै प्रहरीमा निवेदन दिएका हुन् । उक्त घटनापछि वडा प्रहरीको भ्यानले निर्मलाका बाबुसहितलाई घर पुर्‍याएको थियो ।

वडा प्रहरी कार्यालय प्रमुख इन्सपेक्टर सुर्य बहादुर थापाले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको बताए । रामलिला हेरेर घर फर्किने क्रममा बुधबार राति घर फर्किने क्रममा हातपात तथा ज्यान मार्ने धम्की आएको भन्दै निवेदन दिएको उनको भनाई छ ।

हातपात तथा ज्यान मार्ने धम्की दिनेको खोजीकार्य जारी रहेको इन्सपेक्टर थापाको भनाई छ । निर्मलाका बाबुले हातपात गर्नेलाई चिन्न नसक्दा ति व्यक्ति पक्राउ पर्न नसकेको उनको भनाई छ । केन्द्रबिन्दु बाट