Breaking News

सशस्त्र प्रहरीका डिआइजीहरूको सरुवा, बाहिनी मुख्यालय गण्डकी प्रदेशमा पाण्डे ! हेर्नुस् को कहाँ पुगे ?

By peoplesdailynepal

November 11, 2018

काठमाडौं, २५ कात्तिक । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । केही डिआइजीलाई पदस्थापन गरिएको छ । तीन डिआइजीको सरुवा तथा ६ जनाको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ । सरुवा हुनेहरूमा बाबुराम पाण्डे, प्रवीणकुमार श्रेष्ठ र कवीन्द्रमान श्रेष्ठ छन् ।

पाण्डेलाई बाहिनी मुख्यालय प्रदेश ४ कास्की र श्रेष्ठलाई बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीमा सरुवा गरिएको छ । श्रेष्ठ यसअघि प्रदेश ४ कास्कीमा कार्यरत थिए । प्रदेश २ स्थित बाहिनीको प्रमुखका रूपमा कार्यरत डिआइजी कवीन्द्रमान श्रेष्ठलाई केही महिनामै हटाएर सुरक्षा परिषद्को सचिवालयमा जिम्मेवारी दिइएको छ ।

बढुवा भएका ६ डिआइजीहरूलाई पनि जिम्मेवारी दिइएको छ । प्रजाभक्त श्रेष्ठलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, रामप्रसाद श्रेष्ठलाई प्रदेश नम्बर ३ को बाहिनी मुख्यालय मकवानपुर, राजु अर्याललाई मानव स्रोत विभागअन्तर्गतको तालिम निर्देशनालय, नारायणदत्त पौडेललाई कार्य तथा सीमा सुरक्षा विभागअन्तर्गतको सीमा निर्देशनालय, चन्द्रप्रकाश गौतमलाई कमान्ड एन्ड स्टाफ कलेज तथा गोविन्द क्षेत्रीलाई मानव स्रोत विभागअन्तर्गतको प्रशासन निर्देशालयमा पदस्थापन गरिएको छ ।

एसएसपी किशोर प्रधानलाई कमान्ड एन्ड स्टाफ कलेजबाट विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सरुवा गरिएको छ ।