Breaking News

सरकारले पनि भोट माग्यो श्रृंखलालाई ! यसरि भइरहेछ भोटिङ

By peoplesdailynepal

November 28, 2018

काठमाडौँ, १२ मसिर। जनताको गुनासो सुन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ले गत साता मिस वर्ल्ड प्रतिस्पर्धामा रहेकी मिस नेपाल श्रृंखला खतिवडालाई भोट माग्दै आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो सेयर गर्‍यो।

झन्डै एक लाख ५० हजार फलोअर्स भएको सरकारको आधिकारीक ट्विट ह्यान्डलमा त्यसको केही समयमै अनेक प्रतिक्रिया आए । धेरैले जनगुनासो सुन्न बनाइएको सरकारको आधिकारिक ह्यान्डल सुन्दरी जिताउन लागेको भन्दै विरोध पनि जनाए ।

मिस वर्ल्डमा पुगेकी श्रृंखलाका लागि भएको भोटिङ क्याम्पियनको यो एउटा उदाहरण मात्रै हो । यतिबेला प्राय पूर्व एमाले नेता तथा कार्यकर्ता नेकपा प्रतिनिधिसभा सांसद विरोध खतिवडा र प्रदेशसभा सांसद मुनु सिग्देलकी छोरीलाई मिस वर्ल्डमा जिताउन लागिपरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्ने तथा सर्कुलेसन गर्न उनीहरु तल्लिन देखिन्छन् ।

एनआरएनको आधिकारिक सर्कुलर नेपालमा मात्र नभई विदेशमा समेत ‘श्रृखलाका लागि भोट’ अभियान सञ्चालन भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सदस्य राष्ट्रिय परिषदहरुलाई भोट गर्न आधिकारिक सर्कुलर गरेको छ। नोभेम्बर २३ मा एनआरएनए महासचिव डा.बद्री केसीले एनसीसीको ग्रुप इमेलमार्फत् भोटिङ गर्न राष्ट्रिय समितिहरुलाई निर्देशन दिएका हुन्।

सो सर्कुलरमा भनिएको छ, ‘हामी विश्वको सबैभन्दा ठूलो एकताबद्ध संस्था हौं । यो हाम्रा लागि गर्वको विषय हो। यतिबेला हाम्रो शक्ति प्रदर्शन गर्ने बेला आएको छ। नेपाली नारी श्रृंखला खतिवडा मिस वल्र्ड– २०१८ मा भाग लिइरहेकी छन् । उनलाई भोट गरी सहयोग गर्नका लागि म एनआरएनमा आवद्ध विश्वभरका साथीहरुलाई आग्रह गर्दछु ।’ महासचिव केसीले भोटका लागि आवश्यक लिंकसमेत सर्कुलर गरेका छन् । एनआरएनए ७९ वटा देशमा राष्ट्रिय समिति भएको संस्था हो ।

नेकपा प्रवासी संगठनको निर्देशन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रवासी नेपाली मञ्चले पनि श्रृंखलालाई भोट गर्न सर्कुलर जारी गरेको छ । प्रवासी मञ्च युरोपका निवर्तमान अध्यक्ष रामशरण सिम्खडाले आफूहरुले नेपाली चेली श्रृंखलालाई भोट गर्न युरोपमा रहेका सबै नेपालीलाई आग्रह गरेको जनाए ।

प्रवासी मञ्च पूर्व एमालेको प्रवासी संगठन हो । श्रृंखलालाई पूर्व माओवादीको प्रवासी संगठन जनप्रगतिशील मञ्चमा आवद्ध भएकाहरुले पनि सक्दो भोट गर्न आह्वान गरिरहेका छन ।

भाेटिङ अभियानमा मुख्यमन्त्री र नेकपा नेता पनि सरकार, नेकपा, एनआरएन श्रृंखलालाई जिताउन लागि परिरहेको सन्दर्भमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले श्रृंखलाको परिचयसहितको भिडियो सेयर गरेर भोटका लागि अपिल गरेका छन् । त्यस्तै, पूर्वमन्त्री प्रदीप नेपालदेखि सांसद योगेश भट्टराईसम्मले श्रृंखलाका लागि भोटका लागि आह्वान गरेका छन् ।

यी नेताको सिको गर्दै केन्द्रीयदेखि क्षेत्रीयस्तरका नेता तथा कार्यकर्तासम्मले श्रृंखला नेपालको गौरव भएको भन्दै भोट मागिरहेका छन्। व्यक्तिगत फेसबुक वालदेखि फेसबुक ग्रुप, फेसबुक पेजसम्ममा श्रृंखलाका लागि भोट मागिएका छन्। भोट माग्नेहरुले ट्विटरलाई पनि उपयोग गरेका छन्।

यता सांसद एवं श्रृंखलाका बाबु विरोध खतिवडाका बाबुको वाल त झन् छोरीका लागि भोट मागिएका विभिन्न पोस्टले भरिएका छन् । नायिका केकी अधिकारीदेखि पूर्वमिस नेपाल माल्भिका सुब्बासम्मले सामाजिक संजालमार्फत भोट आह्वान गरेका छन् ।

शीर्ष स्थानमा श्रृंखला सबै साथ र सहयोगले श्रृंखलाले प्रतियोगितामा सहभागी १२० देशका सुन्दरीमध्ये सबैभन्दा धेरै भोट पाएकी छन्। उनको पक्षमा ४० प्रतिशतको हाराहारीमा भोट छ (यो समाचार तयार पर्दासम्म) ।

त्यस्तै, श्रृंखलापछि सबैभन्दा बढी भियतनामकी सुन्दरी भी ट्रानको पक्षमा ७ प्रतिशत, भारतकी सुन्दरी अनुकृति भासको पक्षमा ७ प्रतिशत र थाइल्याण्डकी सुन्दरी निकोलेन पिचापाको पक्षमा ५ प्रतिशत भोट छ। यो मतपरिणाम मंगलबार बिहानसम्मको हो।

भोटकै कारण पनि चीनमा जारी प्रतियोगीतामा मिस नेपाल श्रृंखला चर्चाको विषय बनेकी छिन् । नेपालको प्राकृतिक सौन्दर्यलाई समेटर तयार पारिएको उनको परिचयात्मक भिडियोले पनि धेरैको मन जितेको छ । तर विश्व सुन्दरी भोटका आधारमा मात्र नछानिने हुँदा अन्य प्रतिस्पर्धामा पनि श्रृंखला अब्बल हुनु जरुरी छ । गण्डकी टाईम्स बाट