Breaking News

कोरियाले १० वर्षे बहुप्रवेश( मल्टिपल) भिसा दिने

By peoplesdailynepal

December 06, 2018

एजेन्सी –दक्षिणपूर्वी एसियाली मुलुकहरूबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरूले अब १० वर्षे मल्टिपल (बहुप्रवेश) भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरूमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम रहेका छन् ।

डिसेम्बरबाट लागू हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत गर्न पाइने छ । यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ । यसअघि यी मुलुकहरूले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो ।बहुप्रवेश भिसाका लागि डाक्टर, वकिल, प्राध्यापक, इन्जिनियरहरूलगायत उच्च तहतप्कामा कार्यरत नागरिकहरूले आवेदन दिनसक्ने छन् । यस्तै, स्थानीय विश्वविद्यालयबाट चारवर्षे स्नातक तथा स्नात्तकोत्तर डिग्री हासिल गरी प्रोफेसनल रूपमा स्थापितहरूले पनि आवेदन दिन पाउनेछन् ।

न्याय मन्त्रालयका अनुसार छोटो अवधि भ्रमण (सी–थ्री) भिसावाला पर्यटक प्रत्येकपटक ३० दिन कोरिया बस्न पाउने र १० वर्षसम्म आतेजाते गर्न पाउने छन् । तर, अवैध रूपमा रहन र अनुमतिबिना काम गर्न भने पाउने छैनन् ।अध्यागनमले कोरियामा प्रवेश गरेपश्चात गैरकानुनी रूपमा बस्न नचाहने नागरिहरूलाई मात्र उक्त भिसा दिनेछ । भिसा प्राप्त गर्न आवेदन दिएको दिनदेखि ३ महिनासम्म लाग्नसक्ने बताइएको छ ।

गत अक्टोबरसम्ममा कोरिया भ्रमण गर्ने पहिलोमा थाइल्याण्डका नागरिकहरू, दोस्रोमा भियतनामीहरू र तेस्रोमा फिलिपिनीहरू थिए । त्यस्तै, कोरियनहरूले भ्रमण गर्ने राष्ट्रमा पहिलोमा भियतनाम, दोस्रोमा फिलिपिन र तेस्रोमा थाइल्याण्ड छ ।साभार :कारोबार दैनिक