Breaking News

बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले लिइन शपथ, लगातार तेस्रो पटक सत्तामा

By peoplesdailynepal

January 10, 2019

एजेन्सी-  बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसद्मा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। उनी लगातार तेस्रो कार्यकालका लागि पुनः प्रधानमन्त्री बनेकी हुन्। उनले मन्त्रीहरूको पनि नियुक्ति गरेकी छन्। ४७ जनाको मन्त्रिपरिषद् बनाएकी छन्।

ेती मन्त्रीहरूमा ३१ जना भने नयाँ रहेका छन्। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले प्रधानमन्त्री शेख हसिनालाई शपथ दिलाएका थिए। राष्ट्रपति हमिदले बहुमत प्राप्त पार्टीका अध्यक्ष शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका थिए।

प्रधानमन्त्रीका रूपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनमा अवामी लिग र यसका सहयोगी सहित २८८ सिटमा विजयी भएका थिए।

हाल बंगलादेशको संसद्मा २९९ सिट रहेको छ। हसिनाको यो चौथो प्रधानमन्त्रीको कार्यकाल हो। ७१ वर्षीया हसिना सन् २००९ देखि लगातार बंगलादेशको प्रधानमन्त्रीमा रहेकी छन्। त्यसअघि उनी सन् १९९६ देखि २००१ सम्म पनि बंगलादेशकी प्रधानमन्त्री थिइन्। बंगलादेशको नयाँ संसद्को अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ।