Breaking News

गोरखाकी २५ वर्षीय अञ्जु ; ‘भ्यालेन्टाइन्स डे’ कै दिन श्रीमानले विदेश बोलाए अनि हत्या गरे !

By peoplesdailynepal

March 07, 2019

गोरखा । गोरखाकी २५ वर्षीय अञ्जु पाण्डे तिवारीको कतारमा रहस्यमय मृत्यु भएको छ । पाँचवर्ष अघि तनँहुका किशोरबाबु पाण्डेसँग विवाह गरेकी अञ्जुको मृत्यु रहस्यीमय तरिकाले भएको बताइएको छ ।

किशोरबाबु वैदेशिक रोजगारीका लागि कतारमा रहँदै आएका थिए । गत महिनामात्र वैदेशिक रोजगारीमा रहेका किशोरले अञ्जुलाई एक महिने भिजिट भिषामा कतार बोलाए ।

अञ्जुले श्रीमानलाई ‘किन आउने होर कतार ?’ भनि प्रश्न गर्दा श्रीमानले ‘तँलाई मार्न बोलाको’ भनि जवाफ दिएको भाई र बहिनीले प्रत्यक्ष सुनेकाे माइतीपक्ष जनाएकाे छ। त्यो समयमा श्रीमानले ख्यालख्यालमै भनेका थिए वा साच्चै भनेका थिए त्यो भने अहिले बहसको विषय बनेको छ । अञ्जु आफ्नो भाइ र बहिनीको साथमा काठमाडौं डेरामा बस्दै आएकी थिइन् ।

अञ्जुको फागुन २ गते अर्थात ‘भ्यालेनटाईन्स डे’को दिन मृत्यु भएको थियो । अञ्जुका बुवा पनि वैदेशिक रोजगारीका लागि बिगत १० वर्षदेखि कतारमा बस्दै आएका थिए । १२ फेब्रुअरीमा छोरी–ज्वाँईलाई कतारमै भेटेर नेपाल फर्किएका मृतकका बाबुले छाेरीकाे रहस्यमय मृत्यु भएकाे बताए ।

अञ्जुका माइतीपक्षको तर्कः अर्कोतर्फ किशोरले अञ्जुसँग पटकपटक सम्बन्धबिच्छेदका लागि दवाव दिदैँ आएका थिए । अञ्जुले सम्बन्धबिच्छेद नदिएपछि किशोरले श्रीमतीसँग कहिले सम्बन्ध बिच्छेद गर भन्ने त कहिले तँलाई म माया पनि दिन्न, सम्बन्धबिछेद पनि गर्दिन’ भन्ने गरेको युवतीको माइतीपक्षकाे दाबी छ ।

अञ्जुका श्रीमानको प्रेमिका रहेको माइतीपक्षको आरोप छ । उनीहरुले लमजुङको एक युवतीसँग किशोरको प्रेम रहेको दाबी गरेका छन् ।

एक सन्तानी भएकी युवतीसँग आफ्नो श्रीमानको प्रेमसम्बन्ध रहेको कुरा अञ्जुले पहिले नै माइतीपक्षलाई सुनाएको उनीहरुको दाबी छ । प्रेममा रहेकी युवती पनि केहिवर्ष अघि वैदेशिक रोजगारीको लागि कतार गएको र त्यहाँ किशोरसँगै बसेको खुल्न आएको छ ।

यस्तो छ किशोरको भनाइः कतारस्थित किशोरले भने आफूले श्रीमतीको हत्या नगरेको बताउँदै आएका छन् । ‘मैले श्रीमतीलाई खाना बनाएर खानु भनि अफिस गएको थिएँ,’ किशोर भन्छन्, ‘अफिसबाट खाना खायाै कि खाएनाै भनि एसएमएस गर्दा रिप्लाई नआएपछि आफू कोठामा पुग्दा अञ्जुले आत्महत्या गरेको देखेँ ।’

मृतकका श्रीमानकाे भनाइमा कत्तिको सत्यता छ प्रहरी अनुसन्धानमा पत्ता लाग्ला । तर उता मृतकका माइतीपक्षले भने यसलाई आत्महत्या नभई हत्या भएको बताइरहेका छन् । मृतकको शव अहिलेसम्म नेपाल ल्याइएको छैन । मृतकका आफन्त नेपालमा रहेको कतारी राजदुतावास र नेपाल प्रहरीमा गएर उजुरी गरेता पनि कतैबाट पनि गुनासो सुनुवाइ नभएको उनीहरुको भनाइ छ । गण्डकी टाइम्स बाट