Slider News

उपसभामुखलाई किशोरीहरुको प्रश्नः बालविवाहबाट जन्मेको बालबालिकाले जन्मदर्ता कसरी पाउने ?

By peoplesdailynepal

January 15, 2020

नवलपुर जिल्लाको देवचुली नगरपालिकाका किशोरीहरुले गण्डकी प्रदेशसभाका उपसभामुख श्रृजना शर्मालाई भेटेर आफ्नो समस्या सुनाएका छन् । किशोरीहरुले उपसभामुख शर्माले बालिकाहरु नीतिगतरुपमा सुरक्षित बनाउनका लागि पहल गरिदिन तथा बालबालिकामाथि हुने कुनै पनि खालको हिंसाका विरुद्ध प्रदेश सभाबाट कडा कानुन पारित गरिदिन आग्रह गरेका छन् । कार्यक्रममा किशोरीहरुले देवचुली नगरपालिकामा बालिका सुरक्षाका लागि बाल विवाह रोकथाम, आत्मरक्षा तालिम, घरेलु महिनावारी प्याड बनाउने तालिम, बालिका मैत्री शौचालय अभियान आदिमा काम गरिरहेको समेत उपसभामुखलाई बताए ।

यस्ता अभियानमा सहभागी हुँदा विभिन्न चुनौती आएको बताउँदै एक जना अभियान्ता निरुता खत्रीले बाल विवाह रोकथामका विभिन्न अप्ठ्यारोबारे समेत जानकारी दिइन् । बालविवाह दर्ता गर्न नमिल्दा समेत समस्या आइरहेको बताउँदै खत्रीले अगाडि प्रश्न गरिन्, “बालविवाहबाट जन्मेको बालबालिकाले जन्मदर्ता कसरी पाउने ?” कार्यक्रममा किशोरीहरुलाई सम्बोधन गर्दै उपसभामुख शर्माले गण्डकी प्रदेश सरकारले किशारीहरुको अधिकार प्रत्याभूति गराउन कुनै कसर नछाड्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “मानिसमा भएको सोचाइमा परिवर्तन नगरी किशोरी सशक्तिकरण हुनसक्दैन ।” उहाँले प्रदेशस्तरको प्रशिक्षण केन्द्रको स्थापनाका लागि पहल गरिएको र त्यसमार्फत किशोर किशोरी, महिला र युवाहरुले लाभ लिन सक्ने जानकारी दिनुभयो । त्यसलाई निकट भविष्यमा नै हरेक पालिका तहमा समेत विस्तार गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता नारायण पौडेल र आयोजक संस्थाका संरक्षक होमनाथ जैसीले पनि आफ्नो धारणा राख्नुभएको थियो । क्यानालानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम संस्थाको अध्यक्ष तिलोत्तम पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो ।