Breaking News

किशोरीहरुलाई सामाजिक विकास मन्त्रीको भनाईः हामीले गोरेटो खन्दैछौं, अब तपाईंहरु प्रधानमन्त्री बन्न सक्ने बाटो बन्दैछ

By peoplesdailynepal

January 15, 2020

नवलपुर जिल्लाको देवचुली नगरपालिकाबाट आफ्नो गुनासोहरु सुनाउन पोखरा आएका किशोरीहरुले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरलाई भेटेका छन् । सामाजिक विकास मन्त्रालयमा मन्त्रीलाई भेट्दै किशोरीहरुले नवलपुरमा बालविवाह, किशोर किशोरीहरुबीच विभेद, यौन जन्य हिंसा, पहिचानमा समस्या, लागु पदार्थ दुव्र्यसन, आत्महत्या रोकथाम आदि विषयमा प्रश्न गरेका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले किशोरीहरुलाई नीतिगत सुधारमा मन्त्रालय निरन्तर काम गरिरहेको जानकारी दिनुभयो । अहिलेको संविधानले नीतिगत रुपमा नै महिला प्रतिनिधित्व ग्यारेन्टी गरेकाले इतिहासमा नै पहिलो पटक उत्साहजनक सहभागिता हुन सकेको बताउनुभयो ।

“हामीले राजनीतिमा होमिँदा अहिलेको जस्तो सहज परिस्थीति थिएन”, उहाँले अगाडि भन्नुभयो, “हामीले गोरेटो खन्दै यहाँसम्म आइपुग्यौं, अबका किशोरीहरु यही बाटोमा मुख्यमन्त्री र प्रधानमन्त्री बन्न सक्ने आधार तयार भएको छ ।” किशोरीहरुले अगाडि बढ्नका लागि किशोरहरुलाई जस्तो सहज नभएको बताउँदै उहाँले पहिले मन अनि परिवार र समाजलाई जित्नुपर्ने बताउनुभयो । त्यसै गरी उहाँले यही आर्थिक वर्षभित्र प्रदेश बालबालिका सम्बन्धी ऐन पारित भइसक्ने र त्यसले बालबालिकाहरुलाई नीतिगत रुपमा सहयोग हुने बताइन् । जागृति बाल तथा युवा सरोकार नेपालको अध्यक्ष तिलोत्तम पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा नवलपुरबाट आएका ४५ जना किशोरीहरुले सहभागिता जनाएका थिए ।