Breaking News

नर्सलाई डेराबाट निकालेको आरोपमा घरधनी पक्राउ

By peoplesdailynepal

March 31, 2020

कोरोना भाइरस सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोप लागेका दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको आरोपमा उनलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

दाङका प्रहरी प्रवक्ता सुमित खड्काले आरोपबारे अनुसन्धान जारी रहेको बताए । प्रहरीका अनुसार वडा सचिव आचार्यले आरोप अस्वीकार गरेका छन् ।

घरधनी आचार्यका अनुसार नर्स खड्का पहिले रोल्पाका दुई किशोरी बस्ने कोठामा सँगै बस्न आएकी थिइन् । पछि ती किशोरी कोठा छाडेर गएपछि नर्स एक्लै बस्न थालेकी थिइन्।

‘त्यसपछि वडा सचिव आचार्यले मैले तिमीलाई डेरा दिएको होइन, रोल्पाली किशोरीहरुलाई पो दिएको हुँ भनेर कोठा खाली गर्न लगाएको भन्ने दावी आरोपीको छ,’ डीएसपी खड्काले भने ।

यसअघि प्रमुख जिल्ला अधिकारी रिजालले प्रेस विज्ञप्ति निकालेर केही घरधनीहरुले स्वास्थ्यकर्मीलाई घरबाट निस्किन भनेको सुन्नमा आएको भन्दै यदि त्यसो गरिए कारबाही गर्ने चेतावनी दिएका थिए ।