Breaking News

३ स्कुटर चोर्ने गिरोह एउटै, भाग्दाभाग्दै प्रहरीले समायो

By peoplesdailynepal

August 13, 2020

सिर्जना मल्ल ठकुरीको ग५प ३९१५ नम्बरको डियो स्कुटर बुधबार चोरी भयो ।

पोखरा ११ प्रगतिटोलस्थित उनको घरबाट राति साढे १२ बजे स्कुटर चोरी भएपछि प्रहरीलाई खबर पुग्यो ।

त्यसअघि पनि घर वरपर र कपाउन्ड भित्रबाटै स्कुटर चोरी भएका गुनासा कास्की प्रहरी कहाँ पुगेका थिए ।

साउन २५ गते ग६प ६३४२ नम्बरको ज्ञानकुमारी गुरुङको नाममा रहेको रातो डियो स्कुटर पोखरा ४ गणेशटोलकी सुकमाया कामीको घर कम्पाउन्डबाटै बिहान ११ बजे चोरी भएकाे थियाे ।

साउन २६ गते ग१७प ३०५१ नम्बरको धनमाया गुरुङको रातो डियो स्कुटर राति १० बजे पोखरा ४ रामकृष्ण टोलबाट चोरी भएको थियो ।

दिनपिच्छैका स्कुटर चोरीका घटनाका गुनासा पुगेपछि कास्की प्रहरीले मातहतका युनिटलाई सर्कुलर जारी गरिसकेको थियो ।

३ वटै घटनामा संलग्न एउटै गिरोह भएको अनुमान भएपछि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

तर बुधबारको स्कुटर चोरी घटनाले भने त्यसअघिका २ वटा स्कुटर फेला पार्न समेत सघायो र दोषिलाई हिरासतमा पु¥यायो ।

चोरीको स्कटुर लिएर भाग्दै गर्दा लेखनाथ क्षेत्रबाट गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २ वटा चोरीका स्कुटर र ५ थान मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

‘मोटरसाईकल र स्कुटर चोरी भएको सूचनाको आधारमा हामीले मातहतका इलाका प्रहरीलाई सर्कुलर गरिरहेका थियौं,’ उनले भने, ‘सोही क्रममा बुधबार इलाका प्रहरी कार्यालय डाँडाकोनाकको टोलीले स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा पक्रन सफल भयो ।’

पक्राउ पर्नेमा गोरखा घर भएका पोखरा ३ नदीपुर बस्ने १९ वर्षीय सन्दीप श्रीमल र अन्य २ जना १५÷१५ वर्षीय नाबालक पुरुष रहेको प्रवक्ता हमालले जानकारी दिए । नाबालक भएकाले प्रहरीले २ जनाको परिचय सार्वजनिक नगरेको हो ।

चोरी भएका स्कुटरमध्ये ग६प ६३४२ नम्बरको स्कुटर पोखरा १२ फुलबारी सफामार्गबाट बरामद भएको थियो । ग१७प ३०५१ र ग५प ३९१५ नम्बरको स्कुटर पोखरा २६ बुढीबजारबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ३ जना विरुद्ध चोरी तथा डाँका कसूर अन्तर्गत अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी हिरासतमा राखिएको कास्की प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।