साउन-२२, पोखरा/ अति विवादित अनि चर्चित पर्यटन व्यवसायी कर्ण शाक्य, जसले फेवा ताल मिचेर होटल बनाएका छन्। उनको होटल पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना फेवाताल अतिक्रमण गरेर बनाएको सरकारी छानविन समितिले निश्कर्ष निकालेको छ । सरकारी छानविन समितिको प्रतिवेदन सर्वोच्च अदालतमा पुगिसकेको छ । भवनको नक्सा पास भए/नभएको रिपोर्ट पनि आएको छ । यसमा अब ३१ साउनबाट बहस सुरु हुनेछ ।

सर्वोच्चको आदेशअनुसार प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छाननिन समितिका अनुसार होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर छन् । बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएकोे पाइएको छ ।

संरचना भत्काउन सुझाव

समितिले ०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नाप नक्सालाई आधार बनाएको थियो । यसक्रममा १५ मंसिर ०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो । त्यो योजनामा फेवातालको ६५ मिटर (२०० फिट) भित्रमा कुनै पनि संरचना बनाउन रोक लगाइएको छ ।

प्रतिवेदन अनुसार शाक्यको होटलका अधिकांश संरचना फेतावालको ६५ मिटर क्षेत्रभित्रै बनेको पाइएको छ । पानी शुद्धीकरण गर्ने ट्यांक, स्वीमिङ पुल, शौचालय, ट्रस, बगौंचा, मुल गेट र पालेघर लगायतका संरचना तालको किनारामा बनेका छन् । बाँकी २ वटा संरचनाहरु मात्रै तालको ६५ मिटरभन्दा बाहिर रहेको प्रतिवेदनमा उल्लेख छ ।

रिसोर्टले भूमिगत बाटोमा बगैंचा तथा रिसोर्टभित्रको व्यक्तिगत बाटो बनाई भोगचलन गरेको खुलेको छ । सार्वजनिक बाटो तत्कालीन सारङकोट गाविसबाट भाडामा लिएर भोग गरिरहेको होटलको दाबी छ । कि.नं. १७३ को २ सय ४२ दशमलव ४९ वर्गमिटर मध्येको १ सय २२ दशमलव ८६ वर्गमिटर, कि.नं. ३०४ को १ हजार २ सय ६५ दशमव १२ वर्गमिटर मध्ये ३ सय ८१ दशमलव ५६ वर्गमिटर जग्गा रिसोर्टले भोगचलन गर्दै आएको छ ।

पोखरा नगर विकास योजना अनुसार फेवातालको ६५ मिटरभित्र कुनै पनि संरचना बनाउन पाइँदैन । त्यसभन्दा बाहिर पनि टहराहरुमात्रै बनाउन सकिने भनिएको छ । तर, शाक्यले स्वीमिङ पुललगायतका संरचना बनाएको पाएपछि अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउनुपर्ने रायसहित समितिले सर्वोच्च अदालतलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार ६५ मीटरभित्र परेका सबै संरचना भत्काउनुपर्नेछ ।

०३४ सालको नापीका क्रममा एक हजारभन्दा धेरै व्यक्तिले फेवातालको जग्गा आˆना नाममा दर्ता गराएको भेटिएको प्रतिवेदनमा उल्लेख छ । ०३१ सालमा फेवातालको बाँध भत्किएपछि पानी केही सुकेको थियो । त्यही मौकामा अवैधरुपमा सार्वजनिक जग्गा एक हजार बढी व्यक्तिहरुले आफ्नो नाममा दर्ता गराएका थिए । तर, बाँध पुनर्निर्माण भएपछि तालको पानी फैलिँदै जाँदा त्यो दर्ता भएको जग्गा पानीमुनि परेको छ ।

रिसोर्टबाट निस्किएको पानी समेत अखाद्य

रिसोर्टबाट निस्किएको पानी तालमा मिसाउँदा खान योग्य बनाएर प्रशोधन गराएर मात्रै मिसाउनुपर्ने हुन्छ । तर, शाक्यको रिसोर्टको यसमा समेत गम्भीर गल्ती भेटिएको छ । समितिले तयार पारेको प्रतिवेदन अनुसार रिसोर्टबाट निस्काशित पानीको परीक्षण गर्दा खान अयोग्य भेटिएको छ । यद्यपि यो पानी तालमा भने मिसाइएको छैन ।
अनलाईनखबर बाट साभार

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter