काठमाडौं, ९ भदौ – बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन जारी छ । आन्दोलनसँगै निर्मला हत्या प्रकरणले नयाँ मोड समेत लिएको छ । शनिबार बिहान अनुसन्धानका लागि भन्दै प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका किशोरीहरु बबिता बम र रोशनी बम हुन् । बम दिदीबहिनी भीमदत्त नगरपालिका-१८ स्थित आफ्नै घरबाट पक्राउ परेका हुन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त गृहकार्य गर्न भनेर तिनै रोशनी बमको घरमा गएकी थिइन् । त्यसपछि उनी घर फर्किनन । उनको शव अर्को दिन मात्र फेला पर्यो ।
बबिता र आँचल भनिने रोशनी दुई तले घरमा बस्थे । निर्मलाको हत्यापछि दार्चुला बसिरहेका उनका बाबुआमा पनि सँगै बस्न थालेका छन् । उनीहरुलाई भेट्न दुई जना केटाहरु आउनेजाने गरेको स्थानीयले बताएपछि अनुसन्धानका लागि बम दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीयका अनुसार उनीहरुको घरमा आइरहने दुई व्यक्ति एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज हुन् ।प्रहरीले यही विषयमा बुझ्नका लागि उनीहरुलाई पक्राउ गरेको हो ।दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताए पनि अहिलेसम्म उनीहरुमाथि अनुसन्धान भएको थिएन ।