पोखरा । बेगनासतालमा शनिबार गैंडाकोटबाट परिवारसहित ससुराली आएका रवी खनालले चलाएको डुंगा दुर्घटना भयो । त्यस डुंगामा १० जना सवारमध्ये उनकी श्रीमती सपना र निशा पौडेल मात्र बाँचे । अरु ८ जनाको ज्यान बचेन ।नवलपरासी गैंडाकोटकी सपना खनाल, श्रीमान रवि र छोराहरु शिव, शंकरका साथ पोखरा आईन् । नेपाल आर्मीमा जागिरे रवीको भर्खैरै बढुवा भएको थियो । बढुवा भएको खुसीयालीमा पोखरा घुमघाम गर्ने, आफन्तसँग भेट्ने र पोखरातिरै घर किन्ने भनेर खनाल परिवार पोखरा आएको थियो । तर घर माइततिरै घर किन्ने सपना बोकेर आएकी सपना सबै परिवार नै गुमाएर बेघरबार बनिन् ।
शनिबार दिउँसो मोहोरियास्थित एक घरमा रुवावासी चलिरहेको थियो । दुर्घटनापछि पौडी खेलेर तालबाट निस्केकी सपना खनाल आफन्तलाई अंगालो हाल्दै रोइरहेकी थिइन् । भक्कानिँदै उनले भन्थिन् ‘मैले नजाउँ त भनेकै थिएँ, मेरो बाबा मलाई छोडेर जानु रै्छ र जिद्धि गर्नुभयो ।’सपनाका अनुसार, यसअघि रवीले कहिल्यै पनि डुंगा चलाएका थिएनन् । ससुराली जाँदा बेगनासतालमा एकपटक आँफैले डुंगा चलाएर ताल घुम्ने रहर सुनाएका थिए रवीले ।
रवीकै जोडबलमा, डुंगा आफैले लिएर जाने योजना भयो । आफूसहति ९ जना भएपछि उनले डुंगा अगाडि बढाएका थिए । पाहुनालाई एक्लै डुंगामा छोड्न नसकेर कमल अर्को डुंगा लिएर पछि लागेका थिए । सपना कमलकी साढुकी छोरी हुन् । पोखरामै घर किन्ने भनेर रवीले २ दिन पहिला गैंडाकोटको घर बेचेका थिए । घर बेचेर लिएको चेक पनि रवीकै खल्तीमा थियो । ‘घर किन्छु भन्दा मेरै घरबार नै दैवले चुँड्यो,’ अर्धचेत अवस्थामा सपनाले भक्कानिँदै भन्थिन् ।
लिब्दी किनार आउन सय मिटरजति बाँकी थियो । अब त पार हुन लागियो भनेर सपनाले ढुक्कको सास फेरेकी थिइन् । त्यतिबेलासम्म डुंगाको पिँधमा पानी भरिएको थियो । पानी पसेपछि केटाकेटी चल्न थाले । ठाउँ छाडेर उनीहरु उठे ।पानीले पिँध भरिएको देखेपछि रवी पनि आत्तिए । खियाउन छाडेर बच्चाबच्ची सम्हालन पुगे । यत्तिकैमा डुंगा कोल्टिहाल्यो । पानीले डुंगामा भरियो । सपनाले छोराहरु शंकर र शिवलाई दुबै हातले च्यापिन् । उद्धार गर्ने कोहि नहुँदा छोराहरु गुमाउनुपरेको सपनाले रुँदै बताईन् । ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिएँ, उद्धारमा कोही नआए पछि उनीहरु हातबाट फुस्के,’ सपना बोल्न सकिनन् ।
जसोतसो पौडी खेलेर उत्रने कोसिस गर्दा अनिता हिमाली, दिलकुमारी जलारी लगायतका किशोरीले उनको गुहार सुनिन् । बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । डुंगा चलाएको अनुभव नभएका ज्वाइँले डुंगा चलाउने रहर गरेपछि कमलराज कँडेल उनीहरुको पछि पछि अर्को डुंगा लिएर पुगेका थिए । तर केही पर पुगेपछि डुंगा पल्टेको देख्नेबित्तिक कमल आफूले चलाएको डुंगामै बेहोस भएका थिए ।
गण्डकन्युजका लागि रन्जन अधिकारीले लेखेका छन्