काठमाडौं, ३० भदौ / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा गृहमन्त्री रामबहादुर थापा बादलले अर्को एक्सन गरेका छन् । निर्मला हत्याकाण्डमा प्रहरीप्रतिको विश्वास गुम्दै गएको बेला गृहमन्त्री थापाले जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित चार प्रहरी अधिकृतहरुलाई निलम्बन गरेका हुन् ।
डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको थियो । यो घटनामा कञ्चनपुरका एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।
हेर्नुहोस गृहको निलम्बन सम्वन्धी विज्ञप्ती
प्रतिवेदनले केही औल्याएका संदिग्ध व्यक्तिहरुलाई छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि निर्देशन दिएको छ । घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, यस आपराधिक घटनामा जो कोही संलग्न भएपनि कानुनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिवद्ध छ ।’