काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय कलेज अफ एग्रिकल्चर साइन्समा प्राध्यापक डा. मेघराज तिवारी पशु आहार महाशाखा खुमल्टारका मुख्य विशेषज्ञ पनि हुन् ।
तिवारी छात्रालाई यौन प्रस्ताव राख्दै अश्लील सामग्री पठाएको आरोपमा पक्राउ परेका छन् । उनले छात्रालाई प्रस्ताव राख्दै नमाने परीक्षामा ‘फेल’ गराइदिने धम्की दिएको खुलेको छ ।
तिवारीले बिएस्सीमा अध्ययनरत २० वर्षीया छात्रालाई ६ महिनादेखि लगातार यौन प्रस्ताव राख्दै आएको प्रहरीले बताएको छ । छात्राले प्रस्ताव अस्वीकार गरेपछि तिवारीले म्यासेन्जरमा अश्लील म्यासेज पठाएको खुलेको छ ।
अनुसन्धान क्रममा तिवारीले २६ भदौमा छात्रालाई अश्लील म्यासेज पठाएको पाइएको छ । अश्लील म्यासेज र भिडियो पठाउँदै प्रस्ताव राख्दा छात्राले नमानेपछि अश्लील भाषामा गालीगलौज गरेको पीडितको आरोप छ । अश्लील गालीपछि छात्राले प्रहरीमा उजुरी गरेकी हुन् । तिवारीलाई साइबर क्राइम अन्तर्गत अनुसन्धान भइरहेको छ ।