म्याग्दी, असोज २७ । म्याग्दीको गुर्जा हिमालमा हिम पहिरो खस्दा ८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएका आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट आरोहणका लागि त्यसतर्फ गएका थिए । पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने बुढामगरले जानकारी दिए ।

पर्यटन विभागका अनुसार किम चङग्होको नेतृत्वमा कोरियन नागरिकहरु यु याङजीक, रिम इल चिन, लि जफुन, नेपाली नागरिक वाङचु शेर्पा, तेन्जिङ भोटे, लाक्पा साङबु भोटे टोलिमा थिए । ‘आज बिहान पोखराबाट गएको टोलीबाट ८ जना मान्छेको शव देख्यौं भनेर रिपोर्ट आएको छ,’ डिएसपी बुढामगरले भने, ‘तर मौसम खराब भएकाले हेलिकोप्टर बस्न नसकेर फर्किएको छ ।’

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए ।
-dnanepal.com बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter