पोखरा, पुस ३ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका १ प्रहरीले पोखरा ११ चलिरहेको काहुँ महोत्वसमा गुण्डागर्दी शैलीमा रकम असुल गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान किरण भुजेलले महोत्सवका स्टलबाट रकम असुली गरेको व्यापारीले गुनासो गरेका छन् । उनले सादा पोसाकमा प्रहरी भएको भन्दै हप्काएर रकम असुली गरेको व्यापारीको गुनासो छ ।

महोत्सवको मनोरञ्जनतर्फकोे एक स्टल सञ्चालकले ५ सय रुपैयाँ दिएको बताए । ‘सादा पोसाकको प्रहरी भन्दै हप्काउँदै पैसा मागेको थियो,’ स्रोतले भन्यो, ‘मैले ५ सय रुपैयाँ मात्र दिएको छु ।’ उनीमात्र नभएर उनले केही युवासमेत लिएर गएका थिए । तर भुजेल सादा पोसाकका प्रहरी होइनन् ।

उनले बेलुका भएको कन्सर्ट स्थलमा नै प्रहरी भन्दै सबैलाई थर्काउन थाले । बेलुका कन्सर्ट भइरहेको बेला उनी स्टेजमा नै चढे, जहाँ कलाकार र कार्यक्रम सञ्चालकमात्रै जान पाउँछन् । स्रोतका अनुसार आयोजकले प्रहरी जवान भुजेललाई स्टेजबाट बाहिरन अनुरोध गरेका थिए ।

तर भुजेलले आफू जिल्ला प्रहरी कार्यालय कास्कीको सादा पोसाकको प्रहरी भन्दै आयोजकलाई थर्काए । यति मात्रै होइन, भुजेलले दिनभर महोत्सवमा नै रक्सी पिएर बबाल गरेका थिए । भुजेलको व्यवहारबाट दिक्क परेका आयोजकले उनलाई वडा प्रहरी कार्यालय रामबजारका असइ शंकरप्रसाद पौडेलको जिम्मा लगाएका थिए ।

असइ पौडेलले घर जान निर्देशन दिँदै महोत्सव स्थलबाट निकाले । तर केही समयमा नै भुजेल पुनः महोत्सव स्थलमा प्रवेश गरे । फेरि दर्शकलाई थर्काउन थाले । त्यसपछि स्थानीयले पुनः वडा प्रहरी कार्यालय रामबजारका प्रहरी प्रमुख दीपक केसीसँग गुनासो गरे । केसीले भुजेललाई महोत्सवबाट लगेर थुनुवा प्रहरी हिरासतमा राखे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इनइन्सपेक्टर गणेश सुवेदीले भुजेललाई विभागीय कारबाही भएको बताएका छन् तर विभागीय कारबाही के भयो भन्ने खुलाएनन् । पत्रकार सुरेशराज अधिकारीले समाधान दैनिकका लागि यो खवर लेखेका हुन् ।
साभार: dnanepal.com

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter