२३ फागुन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । बुधबार दिउँसो संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको  कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् ।

भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र  माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् । समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् । भण्डारीले उम्मेदवारी दर्ता गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका धेरै  नेताहरु उपस्थित थिए । तर राष्ट्रपति पदमा इच्‍छा राखेका झलनाथ खनाल भने देखिएनन् ।

नेपाली कांग्रेसले भने भोजपुरकी कुमारी लक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बिहान बसेको केन्द्रिय कार्य समिति बैठकले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । शहीद देवानसिंह राईकी छोरी राईलाई नेपाली कांग्रेसकी पूर्व सांसद तथा पूर्व केन्द्रिय सदस्यसमेत हुन् ।

सत्तारुढ प्रमुख दल एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई निरन्तरता दिने निर्णय गरेपछि कांग्रेसले पनि महिला उम्मेदवारलाई नै प्राथमिकतामा राख्दै राईलाई अघि सारेको हो । यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा नेता कुल बहादुर गुरुङ, मानबहादुर विश्वकर्माको नाम पनि चर्चामा थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter