राजन उपाध्याय, दुलेगौडा, २८ फागुन | सेतीमा विहानको उज्यालोसँगै प्रदुषणको शुरुवात हुन्छ । सेतीको असली स्वरुप स्थानीयले नदेखेको धेरै भइसक्यो । कारण–यस क्षेत्रमा सञ्चालनमा रहेका क्रसर उद्योग र आसपासका क्षेत्रबाट भित्रिएको फोहोर, जसले नदीको स्वरुप नै बिगारेको छ । मुहानदेखि नै सेतै भएर बग्ने नदी जब तनहुँ आइपुग्छ यो दुरीमा नदीले विभिन्न ठाउँबाट मिसिएको फोहर भेट्छ, त्यसले पनि नदीको पानी दिनभर मैलो बनाउँछ ।

कास्की र तनहुँको सिमानामा अवस्थित शुक्लागण्डकी नगरपालिकामा मात्रै १० वटा क्रसर उद्योग सञ्चालनमा छन् । ती उद्योगले सफा गरेको ढुंगा, गिटी लगायत निर्माण सामग्रीको लेदोले सेतीको स्वरुप नै कुरुप बनाएको स्थानीयको भनाई छ । कोत्रे भन्दा माथिल्लो क्षेत्रमा पानी सङ्लो भएपनि उद्योगबाट निस्किएका धमिलो पानीले सेतीलाई दिनभर धमिलो बनाउने स्थानीय पुर्ण कुमार श्रेष्ठले बताए ।

‘बिहान उज्यालो भएदेखि नै नदीमा हिलोमैलो मिसिन थाल्छ, त्यसले नदीको स्वरुप नै बिगारेको छ,’ उनले भने, ‘दिनभर फोहर हुने नदी रातमा केही सफा हुन्छ । फेरि बिहान भएपछि अघिल्लै दिनजस्तै फोहोर हुन थाल्छ ।’ केहीवर्ष अघिसम्म यो नदीमा स्थानीयले दिउँसोको समयमा नुवाईधुवाई गरेको देखिन्यो । तर, जब नदी फोहोर हुँदै गयो, अहिले पानी छुन समेत घिनाउने बेला भएको उनले बताए ।

सेतीमा मोटर प्रयोग गरेर उद्योगले पानी लैजाने गरेका छन् । सेतीले कटान गरेर छोडेको भाग जथाभावी गाडीमा हालिन्छ । ढुंगा छुट्याएर चालिन्छ । सफा गरेको पानी लेदो मात्रै हुन्छ । त्यहि लेदो सिधै सेती नदिमा मिसीन्छ । फोहोर पानीले पर्यटकीयस्थल रक गार्डेनमा दृश्यावलोकनका लागि आएका पर्यटकले पनि खल्लो महसुस गर्ने गरेका छन् ।

वातावरणविद एकराज सिग्देल सेतीमा जथाभावि फालिने फोहोरले पनि नदीलाई प्रदुषण बनाएको बताउँछन् । ‘पुथ्वीचोकको पुलमुनि नै फोहोरको डुंगुर लाग्ने गर्छ । फोहोर कुहिएर विभिन्न रसायन नदीमा मिसिन्छ, त्यसले नदी प्रदुषित बनाएको छ,’ उनले भने ‘विभिन्न उद्योगबाट निस्कने रसायन र फोहरमैलाले पनि प्रदुषित बनाएको छ ।’ सदावहार प्रदुषणले पानीमा हुने जीव र प्रयोगकर्तालाई समेत हानी पु¥याउने उनले बताए । ‘नदीको पानी यतिधेरै प्रदुषित भईसक्यो कि पानी खायो भने किटपतंक, चराचुरुङगी समेत मर्ने गरेका छन्,’ उनले भने, ‘पानी नै विषालु भईसक्यो ।’ यहाँ सञ्चालित ठूला उद्योगले पहाडजस्तो थुप्रो बनाएर गिटी, बालुवा बिक्रीका लागि राखेका छन् । खोलाको किनार र राजमार्गभन्दा पाँचसय मिटर टाढा क्रसर व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि कार्यान्वयन हुन सकेको छैन । त्यसले पनि नदी फोहोर हुने गरेको उनले बताए ।

काठमाडौं विश्वविद्यालयका प्रोफेसर नवराज खतिवडाले प्रदुषित पानीले गाई, भैसीमा विभिन्न रोग देखापर्ने बताए । ‘काठमाडौंमा वागमतिको पानीले खटिरा देखापर्ने र चाडै मर्ने समस्या देखिएको थियो’, उनले भने ‘प्रदुषित पानीले कुनै पनि प्राणीलाई विभिन्न असर देखापर्न सक्छन, अझ मानिसलाई त झन छालाजन्य समस्या हुन सक्छ ।’ धैरै मुलुकहरुमा प्रदुषण गरे सोहि बराबरको दण्ड सजाँय भोग्नुपर्ने व्यवस्था भएपनि नेपालमा भने यसको खासै चासो नदिएको उनले बताए । सरोकारवाला निकायले अनुगमन र कार्वाहीमा फितलो हुदा यस्तो समस्या सृजना भएको उल्लेख गरे ।

शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङले क्रसर व्यसायीसँग भेटेर नदिमा सिधै मिसिने लेदो नियन्त्रण गर्न आग्रह गरेको जानकारी दिए । उनले भने ‘क्रसरबाट निस्कने फाहोर पानी सिधै सेतीमा नहाल्नु, तलाउ या कुै उपाय अपनाएर सफा पानी मिसाउन भनेको छु, नभए प्रदुषण गर्नेलाई छुट दिन सकिदैन ।’ नदिजन्य पदार्थ उत्खनन् र यससँग विषयकै पूरै अधिकार नगरकापालिकालाई नभएको कारणले पनि समस्या आएको गुरुङले बताए । सडकको मापदण्ड मिचेर नदिजन्य पदार्थ राखिएको प्रति उनले आक्रोस पोखे । उनले ८२ फिट भित्र माल राख्न नपाइने जानकारी दिदै कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह गरे ।

शुनपा वडा नं. ८ का अध्यक्ष कृष्ण रेग्मीले प्रकृतिमाथिको चरम अत्याचार भएको टिप्पणी गरे । उनले भने ‘जो व्याक्ति या निकायसँग इच्छाशक्ति छ, उसँग पहुँछ छैन,,जो सँग पहुँच छ उसँग इच्छाशक्ति छैन ।’ रेग्मीले सिङ्गो राज्य निरिह र स्थानिय सरकार निर्लज्ज निरिहताको साक्षी भएको बताउँछन् ।

गण्डकी क्रसर व्यसायी संघका सचिव छत्रधर आत्रेयले सबैले बनाएको तलाउमा पानी तै¥याएर मात्र सेतीमा छोड्नुपर्नेमा जोड दिए । उनले भने तलाउ त बनेको छ, तर सबैले लेदो पानी तलाउमा नहाली सेतीमा सिधै सेतीमा छोड्दा समस्या आएको स्विकार गरे । उनले भने ‘सेतीलाई प्रदुषणबाट जोगाउन हाम्रो पनि दायित्व हो, स्थानीय निकायले पनि अनुगमन गर्नु जरुरी छ ।’

पोखरा लेखनाथ महानगरपालिकामा सञ्चालित कतिपय उद्योगवाट निस्कने फोहरको केन्द्र पनि सेती हो । गत कात्तिकमा पोखरा–लेखनाथ महानगरपालिकाले पोखराको एक निजी अस्पतालले फाल्नै थालेकोे अस्पतालजन्य फोहोर सहित गाडि नियन्त्रणमा लिएको थियो । त्यसले पनि पोखराका केही अस्पतालबाट निस्किएका फोहरलाई नदीमा मिसाउने गरिएको पुष्टि भएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter