काठमाडौं– विभिन्न देशका लाइसेन्सलाई नेपालीकरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बागमती सुकेधाराका कार्यालय प्रमुख सुन्दर भट्टराई सहित तीन जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दै विदेशका ८ सय ८५ वटा सवारीचालक अनुमतिपत्रलाई ५० लाख ४ हजार ८ सय ५०  रुपैयाँमा नेपालीकरण गरिएको अभियोगपत्रमा उल्लेख गरेको छ।

सवारीचालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा नक्कली कागजातको आधारमा घुस दिएर नेपालीकरण गरेको अभियोगमा यातायात कार्यालयका प्रमुखसहित शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेललाई समेत भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

उनीहरुले यातायात व्यवस्था कार्यालय सुकेधारामा विदेशी सवारीचालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा गलत लिखत तयार गर्दै सम्बन्धित राजदूतावास तथा कन्सुलर सेवा विभागको पत्र, भीसा, सवारी चालक अनुमतिपत्र लगायत कागजातहरु यकिन नगरी चालक अनुमतिपत्र दिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। नक्कली कागजातको आधारमा उनीहरुले ८ सय ५५ जनाको विदेशी लाइसेन्सलाई नेपालीकरण गरिदिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले उनीहरुले लिएको घुस रकमलाई बिगो कायम गर्दै सोही बराबर जरिवाना र कैद सजाय गर्न माग गरेको छ। अख्तियारको अनुसन्धानमा उनीहरुले जनही ५० हजार रुपैयाँभन्दा बढी घुस लिँदै चालक अनुमतिपत्र नवीकरण गरेको देखिएको आरोपपत्रमा उल्लेख छ।

अनुसन्धानका क्रममा पक्राउ परेका लेखापढी व्यवसायी राजु सेढाईंलाई भ्रष्टाचार मुद्दामा विपक्षी बनाइएको छ। सेढाईंले विदेशबाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा आवश्यक कागजात मिलाइदिने सर्तमा नायव सुब्बा पौडेलसँग मिलेमतो गरी ८० हजार घुस लेनदेन कार्यमा मतियारको भूमिका खेलेको अख्तियारले जनाएको छ। उनलाई अख्तियारले ८० हजार बिगो माग गरेको छ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter