बेलायती राजकुमार ह्यारी र अभिनेत्री मेगान मार्कलबीच आगमी मे १९ का दिन विवाह हुँदैछ। तर सो विवाह समारोहमा देशकी प्रधानमन्त्री टरिजा मेलाई समेत निम्त्याइएको छैन। ह्यारीको विवाहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्यारीसँग राम्रो मित्रता भएका पूर्व राष्ट्रपति बाराक ओबामालगायत अन्य कुनै राजनीतिक नेताहरुलाई निम्त्याइएको छैन।
वास्तवमा सरकारसँगकै सल्लाहमा उनीहरुको विवाहमा राजनीतिसँग सम्बन्धित व्यक्तिहरुलाई निम्ता नदिइएको हो। ह्यारी राजा बन्ने रोलक्रममा पाँचौँ नम्बरमा रहेकोले पनि यस्तो निर्णय लिइएको बताइएको छ। यसअघि राजा बन्ने निश्चित रहेका राजकुमार विलियमको विवाहमा भने नेताहरुको उपस्थिति थियो।
ह्यारीको विवाहमा चाहिँ उनका निकटस्थ, सामाजिक कार्यमा सक्रिय व्यक्तिहरु उपस्थित हुनेछन्। ह्यारीले पाहुनाहरुलाई उपहारको सट्टा सामाजिक कार्यमा दान दिन पनि आग्रह गरिसकेका छन्। एजेन्सी