सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ।  गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार प्रधानमन्त्री ओलीलाई २ घन्टा बढी ब्रिफिङ गराएको हो। समितिका अनुसार ९ महिनामा ४७ टन सुन अवैध तरिकाबाट नेपाल भित्रिएको  छ।  यसरी तस्करी गरेर सुन ल्याउँदा अरबौं रुपैयाँ पनि हुन्डीमार्फत् विदेशिएको  समितिको अनुसन्धानमा देखिएको छ।

समितिले प्रधानमन्त्रीलाई सुन तस्करीको अवस्था, राज्यलाई परेको नोक्सान, तस्करीमा संलग्नहरूको नामसमेत सुनाएको बालुवाटार स्रोतले जानकारी दियो। सुन तस्करीमा प्रहरी र भिआइपीहरूको समेत ‘कनेक्सन’ रहेको समितिको निष्कर्ष छ। फागुनको पहिलो साता दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन  गायब बनाएको भन्दै भरिया सनम शाक्यको हत्या भएको थियो।

सुन गायव भएको ९ दिनपछि मोरङमा सुन भरिया शाक्यको शव भेटिएको थियो। शाक्यको शव भेटिएको ४ दिनपछि थाइ एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भएको खबर आएको थियो। त्यो हत्या हो कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुन काण्डमै गत चैत ३० गते पक्राउ परेका विमानस्थलमा कार्यरत लोडर प्रेमराज चौधरीले सिंहदरबार प्रहरी बृतमा आत्महत्या गरेका थिए। साढे ३३ किलो प्रकरणमा सम्लग्न भनिएका यी ३ जनाकै हत्या भएको आशंका गरिएको छ।  सुन प्रकरण र त्यसमा संलग्नहरुको हत्या हुन थालेपछि गृह मन्त्रालयले सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समिति अहिलेसम्म ३० दर्जनभन्दा बढीसँग सोधपुछ गरिसकेको छ। घटनामा सम्लग्न २२ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ।  पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकाशराज खनाल लगायतका प्रहरी नियन्त्रणमा छन् । एसएसपी श्याम खत्री र डिएसपी संजय राउत सम्पर्कविहीन भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान सुन काण्डमा पक्राउ परेका छन् । अपराध महाशाखाका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसी पनि यस काण्डमा मुछिएका छन्।

सेतोपाटीमा प्रकाशित

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter