कलैया (बारा) । १ सय ३६ तह रहेको दुई नम्बर प्रदेशमा बुधबार मनोनय दर्ता भएको छ । पटक–पटकको आन्दोलन र नाकाबन्दीले आहत बनेको तराई–मधेस तेस्रो चरणको स्थानीय निर्वाचसँग जुर्मुराएको हो । र, अधिकांश तहमा एमाले, कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच प्रतिष्पर्धा चुलिँदा बाराको कलैया उपमहानगरमा भने एमाले र फोरमबीच प्रतिष्पर्धा हुने आँकलन मतदाताले गरेका छन् । दुवै उमेदवारको व्यक्तिगत लोकप्रियताका आधारमा मतदाताले सो आँकलन गरेका हुन् ।

५६ हजार ४९३ मतदाता रहेको कलैयामा २२ राजनीतिक दल दर्ता छन् भने ५६ मतदान स्थल र ८१ वटा मतदान केन्द्र रहेका छन् । २७ वठा विभाजन भएको कलैयाबाट १ सय ३७ जना प्रतिनिधि चुनिनेछन् ।

कुन पार्टीका कस्ता उमेदवार ?

एमाले

कलैया उपमहानगरमा एमालेले विनोद साहलाई उमेदवार बनाएको छ भने प्रतिमा यादव उपमेयरको उमेदवार बनेकी छन् ।

कलैया एमालेको विशेष प्रभाव क्षेत्र हो । साविकको ३, ४, ५, ६ निर्वाचन क्षेत्र पर्ने कलैया उपमहानगरमा ४, ५, ६ तीनै क्षेत्र एमालेले संविधानसभाको दोस्रो निर्वाचन जितेको थियो । त्यस्तै ०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि कलैया नगरपालिकामा जीत हासिल गरेकाले एमाले विजय हुनेमा आशावादी रहेको विनोद बताउँछन् ।

 

त्यस्तै एमालेले राष्ट्रियता, सामाजिक सद्भाव र समानताको नारालाई विशेष रूपमा अघि सारेको साहले जानकारी दिए ।

उपमहानगर बनेता पनि मापदन्ड र त्यो अनुरूपको संरचनासमेत नभएकाले एमाले ५ वर्षभित्र उपमहानगरको संरचना पूरा गर्ने र महानगरको आधारशीला तयार पार्ने लक्ष्य प्रस्तुत गरेको छ ।

त्यस्तै कलैया उपमहानगरलाई हरित नगरका रूपमा विकास गर्ने र सबै वडा वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाइने एमालेको लक्ष्य छ । हाल रहेको कच्ची सडकलाई पिचबाटोमा परिणत गर्ने एमालेले प्रतिवद्धता व्यक्त गरेको छ ।

उपमहानगर २७ वडामध्य १४ वटा नयाँ वडा थपिएकाले ती वडालाई नगरको मापदण्डभित्र ल्याउने योजना पनि एमालेले अघि सारेको छ ।

हरेक वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य केन्द्र, प्लस टुसम्मको शिक्षा पूर्णतया निःशुल्क, सुत्केरी भत्ता, विधवा भत्तामा बढोत्तरी र बेरोजगार बैंक स्थापना गरी शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रवाह गर्नेसम्मको महत्वाकांक्षी योजना छन् ।

‘कांग्रेस एमालेले बिगारैको कलैया सपार्न चाहन्छु’

संघीय समाजवादी फोरमबाट उमेदवार बनेका छन् प्रमोद गुप्ता । उनले मधेसी– पहाडीबीचको सद्भावलाई मुख्य एजेन्डा बनाएका छन् र ‘मधेस–पहाडी भाइभाइ’बोलको गीत बजाएर चुनावी प्रतिष्पर्धामा होमिएका छन् । त्यसो त उनी ०६४ सालमा बारा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा १६ हजार ८१ मत ल्याएर विजयीसमेत भएका हुन् । पछिल्लो संविधानसभामा भने उनी पराजित भए ।

”कांग्रेस एमालेले ५० वर्षदेखि कलैयालाई लुटिरहेका छन् उनीहरूकै कारण कलैयाको अवस्था दिनप्रतिदिन जीर्ण बन्दैछ, त्यही सुधार्न म उमेदवार बनेको हुँ,” जीतप्रति विश्वस्त रहेको उनले भने, “कांग्रेस एमालेले नहार्दासम्म कलैयाको विकास सम्भव छैन ।”

उनले कलैया शून्यमा अलमलिरहेका जिरोबाट सुरु गर्नुपर्ने बताउँदै पाँच वर्षभित्र बस्न लायक सहरका रूपमा विकास गर्न आफू
उद्यत हुने योजा सुनाए । कलैयाका हरेकजसो मोर्चा आन्दोलनमा आफू अग्रमोर्चामा रहेकाले जनताले आफूलाई नै चुन्ने उनको दाबी थियो । उनले संविधानसभा सदस्यमा निर्वाचित हुँदा जनतालाई देखिने काम गर्न नसकेकाले, जनताको सुख–दुःखमा साथ दिन नसकेकाले उमेदवार बन्नुपरेको बताए । “निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत दश लाख विनियोजन हुन्थ्यो । ४०–५० गाउँलाई त्यतिले के गर्नु । स्थानीय तहको नयाँ संरचना बनेपछि कलैयाका लागि धेरै गर्न सकिन्छ भनेर जनताको सेवाका लागि लोभिएको हुँ,” उनले सुनाए ।

‘मधेसको समस्या समाधान कांग्रेसको एजेन्डा’

आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई चुनावमा सरिक गराउन र मधेस आन्दोलनलाई चुनावको दिशातिर मोड्न कांग्रेसले अहम भूमिका खेलेका कांग्रेसले त्यसैलाई चुनावी एजेन्डा बनाएको मेयरका उमेदवार राजेशराम यादवले जानकारी दिए । मधेसी पहाडीबीच सद्भाव खलबलिएकाले त्यसलाई पुर्दै मधेसको उन्नती र विकासका सबैको अपनत्व बोध गराउन हामी प्रतिवद्ध छौँ,” उनले आफ्नो कार्यक्रम सुनाए । पर्याप्त पूर्वाधारका विकास गरी उपमहानगरको संरचना तयार पार्न आफू क्रियाशील हुने उनको वचनवद्धता थियो ।

उपमेयरमा कांग्रेसले नजमा खातुनलाई उठाउने भएको छ ।

‘उपमहानगर हामीले बनाएका हौँ’

माओवादी केन्द्रका उमेदवार मुकेश साहले आफूहरूको संघर्षबाट उपमहानगर बनेकाले नेतृत्व पनि माओवादीले नै गर्नुपर्ने दाबी गरे । उनले कांग्रेस एमालेले ३५ वर्षसम्म केही गर्न नसकेकाले अब केही गर्छन् भन्ने भ्रम नपाल्न मतदातालाई अनुरोध गरे । उनले प्रत्यासी मेयरहरूको तुलनमा युवा, दलित, सीमान्त, उपेक्षित, उत्पीडितहरूका लागि काम गर्ने पार्टी माओवादी मात्र भएकाले जनता झुक्किननहुने विचारसमेत व्यक्त गर्छन् । उनले बारा जिल्लामा सहरी विकास मन्त्रालयमार्फत २ अर्ब भन्दा बढीको काम भएको भन्दै आगामी दिनमा यस्ता थुप्रै योजना ल्याइने र त्यो तागत माओवाली केन्द्रसँग मात्रै भएको जिरह प्रस्तुत गरे । र, उनले कलैया उपमहानगरलाई नमुना नगरको रूपका विकास गराउने लक्ष्य रहेकोसमेत सुनाए ।

‘मधेसका मुद्दा बोकेर चुनावमा’

राष्ट्रिय जनता पार्टीका तर्फबाट मेयरका उमेदवार बनेका जयप्रकाश तेलीले राजपाबाहेक मधेसको रक्षा गर्ने कुनै पार्टी नभएको जिकिर गरे । उनले मधेसीको हकअधिकारका लागि राजपाले रगत बगाएको दृष्टान्त दिँदै कलैयामा पनि आफूले नै जित्ने दाबी गरे । मधेसी जनताको रक्षा र कलैयाका विकास सँगै लैजाने उनको प्रतिवद्धता थियो । कलैयाबासी मधेसीलाई अधिकार सम्पन्न नबनाएसम्म कलैयाको विकास नहुने ठोकुवासमेत गरे उनले ।

‘निर्वाचनमा उत्साहजन सहभागिता’

दुई दशकपछि स्थानीय निर्वाचन हुन लागेकाले स्थानीय जनतामा उत्साह छाएको र निर्वाचनका कार्यक्रम निर्वाधरूपमा अघि बढेको मूख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बुधबार उमेदवारी मनोनय दर्ता भएको छ भने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । २४ र २५ गते सबै केन्द्रमा खटिने मतदान अधिकृतलाई तालिम दिइने पनि जानकारी दिए ।

कलैयामा त्यस्तो सुरक्षा जोखिम नभएको बताउँदै उनले सुरक्षा अधिकारीबाट नियमित ब्रिफिङ लिइरहेको र जिल्लास्थित राजनीतिक दलसँग पनि समन्वय भइरहेको जानकारी दिए । गण्डक नहरदेखि दक्षिणी क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउनुपर्ने जिल्लाका राजनीतिक दलहरूले सुझाव दिएको बताउँदै ती क्षेत्रमा विशेष चनाखो अपनाइएको उनको भनाइ थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter