वीरगञ्ज, २४ वैशाख । पर्सा जिल्लाको जिराभवानी गाउँपलिका वडा नं. १ चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा गोली चल्दा चल्दा ५ प्रहरी घाइते भएका छन् । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरिक र दुईजना मोवाईल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेको समूहबीच झडप भएको हो ।

जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानीय र प्रहरीबीच सोमबार बिहान झडप भएको स्रोतले जनाएको छ । झडपका क्रममा प्रहरीले २७ राउण्ड हवाई फायर समेत गरेको छ ।

भारतको बेतिया जिल्ला बजाहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रवेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतोलाई चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरेको र भारतीय नम्बर प्लेटको मोटरसाईकलमा चार जना सवार रहेको फेला पारेपछि आइतबार साँझ ८ बजेतिर प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सेढवामा राखेको थियो ।

मोवाईल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सेढवामा राखेको छ ।

पक्राउ परेकाहरूलाई छुटाउन पुगेका स्थानीय र प्रहरीबीच लामो समय विवाद भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

स्थानीयले ईलाका प्रहरी कार्यालयको प्रतिक्षालय तोडफोड गर्दै प्रहरीको मोटरसाईकलमा आगजनी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरी निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।

झडपमा परी पाँच जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन् । प्रहरी जवान यादवको अवस्था गम्भिर रहेको बताईएको छ ।

प्रहरीले २३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । स्थानीयले प्रहरीको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाईकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाईकल जलाईदिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानीयले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter