फुटबल फेस्टिबलका रूपमा मनाइने उक्त प्रतियोगितामा विभिन्न ३० देशका ३३ भन्दा बढी टोली सहभागी हुँदै छन् ।
‘नेपाली किशोरीको यात्रा पहिलो मात्र होइन विकट भेगबाट युरोपसम्मको अनुभव आफैँ ठूलो हो,’ प्रशिक्षक भगवती रानाले भनिन् । उक्त प्रतियोगितापछि विश्वप्रसिद्ध फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडलगायत प्रतिष्ठित ठाउँको अवलोकनको अवसरसमेत किशोरीहरूले पाउनेछन् ।
यसरी सम्भव बन्यो स्पेन यात्रा
विकट ग्रामीण भेगका किशोरीहरूले मैदानको अभावमा हिउँका बीच फुटबल खेलका लागि गरेको संघर्षमा आधारित रहेर २०१५ मा भोजराज भाटले दुई वर्ष लगाएर ‘सुनकली’ नामक डकुमेन्ट्री तयार गरे । उक्त डकुमेन्ट्री युरोपका विभिन्न १३७ फिल्म फेस्टिभलमा प्रदर्शन गरियो । उक्त डकुमेन्ट्रीले विभिन्न २३ भन्दा बढी अवार्डसमेत जित्यो । डकुमेन्ट्रीमा सुनकलीले फुटबल खेल्नका लागि विकट हिमाली भेगमा गरेको संघर्ष देखाइएको थियो ।
उक्त डकुमेन्ट्रीपछि फिफाले ‘मिट द हिमालयन मेसी’ नामक १२ मिनेट लामो भिडियो नै सुट गरेको डकुमेन्ट्री निर्माता भाट बताउँछन् । जसले गर्दा पनि किशोरीले युरोपमा फुटबल सिक्ने मौका पाएको भाटको विश्वास छ ।
उक्त डकुमेन्ट्री र फिफाको अभियानपछि डोनास्टिक कपको आयोजकले सुनकलीको टिमलाई स्पेनमा खेल्न निम्ता दियो । आउने जाने र बस्ने सबै व्यवस्था गरेपछि सुनकली टिम अहिले नरहे पनि उक्त भेगका किशोरीलाई समेटेर टिम तयार गर्ने जानकारी गराए ।
गत माघमा किशोरीलाई छनोट प्रतियोगिता नै गराएर अन्तिम १७ जनालाई आबद्ध गरेका छन् । भाट भन्छन्, ‘हाम्रो कुनै एनजिओ–आइएनजिओ होइन, विशुद्ध किशोरीहरूको फुटबल लगावबाट पाएको अवसर हो, डोनास्टिक कप ।’
सुनकलीको सबै खेलाडी नभए पनि भाटले मुगुमा स्थानीयस्तरमा छनोट खेल खेलेर नै १३५ भन्दा बढी किशोरीबाट १७ जनाको टिम तयार गरेका छन् । जुन टिम अहिले एन्फा कम्प्लेक्स सातदोबाटोमा अभ्यास गरिरहेको छ । हिमाली जिल्ला भएकै कारण मुगुमा स्तरीय मैदान छैनन्, जसले गर्दा एन्फाको जिल्ला संघसमेत मुगुमा छैन । तर, किशोरीको फुटबल लगाव साँच्चिकै लोभलाग्दो रहेको भाट बताउँछन् ।
सपनाजस्तै सत्य
मुगुका विकट भेगका किशोरीहरूको बामादेखि स्पेनसम्मको यात्रा सपनाभन्दा कम छैन । किशोरीहरू छनोटका दौरान भाटले कम्ती मिहिनेत गर्नुपरेन । महिलाप्रति ठूलो विश्वास नभएको समाजमा उनीहरूका बाआमालाई खुसी बनाएर फुटबलका लागि टिम छनोट गर्नु नै पहिलो चुनौती रहेको भाट बताउँछन् ।
त्यसो त स्पेन जाने तयारी गर्दै गरेका किशोरीका लागि सातदोबाटोमा रहेको आर्टिफिसियल टर्फ नै अच्चमलाग्दो रह्यो । कप्तान रीता रोकाय भन्छिन्, ‘हामी त मुगुभन्दा बाहिर गएकै थिएनौँ, नेपालगन्जको गर्मी र काठमाडौंको भिडभाडले चकित पा-यो । हामीले कहिले पनि यस्तो अवसर प्राप्त होला भन्ने सोचेका थिएनौँ । सबै सपनाजस्तै लागिरहेको छ ।’
अभिभावकहरू महिलाले खेलेकामा सन्तुष्ट हुँदैनन् । त्यसो त सानो उमेरमा नै विवाह गर्ने भएकाले पनि महिलाप्रतिको दृष्टिकोण परिवर्तन हुन नसकेको मान्छन् टिम म्यानेजर प्रकाशकुमार शाही ।