काठमाडौं १३ असार– संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले असार महिनादेखि ‘ट्रेड युनियन काज’ बन्द गरिएको बताएका छन् । कार्यालय समयमा ट्रेड युनियनका कुनै गतिविधि गर्न नदिनेमा सरकार सचेत रहेको उनले बताए । प्रतिनिधि सभाको बुधवारको बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री पण्डितले ट्रेड युनियनलाई व्यवस्थित गर्ने विषयमा छलफल गरिरहेको बताएका हुन् । यसअघि ट्रेड युनियनको राजनीति गर्नेहरुले काज मिलाएर काम नगर्ने गरेको गुनासो आउने गरेको थियो ।
असार महिनादेखि कसैलाई पनि ट्रेड युनियन काज दिइएको छैन, व्यवस्थित गरेर लिएर जाने तयारीमा छौ’ मन्त्री पण्डितले भने, ‘कार्यालय समयमा ट्रेड युनियनका कुनै गतिबिधि गर्न नदिनेमा सचेत छौं ।’
नीति निर्माणमा ट्रेड युनियनको सहयोगको आवस्यकता पर्ने उनले बताए ।
सांसदको प्रश्न– भ्रष्टाचार बढ्नुमा कर्मचारी कि मन्त्री दोषी ? विनियोजन विधेयक माथि सांसदले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिएपछि स्पष्टीकरण सोध्ने क्रममा नेमकिपाका सांसद प्रेम सुवालले सोधे– ‘भ्रष्टाचार बढ्नुमा कर्मचारीको भूमिका कति होला, मन्त्री र सचिवको योगदान कति होला ?’
जवाफमा मन्त्री पण्डितले भ्रष्टाचारको सन्दर्भमा कही पनि छूट नहुने बताए । ‘भ्रष्टाचारको सन्दर्भमा कही पनि छूट छैन । कानूने बन्द गरेको छ, दण्ड गर्ने निकाय छ’ उनले भने । मन्त्री पण्डितले छलफलमा रहेको संघीय निजामति ऐनमा कर्मचारीलाई गैर सरकारी संस्थामा काम गर्ने या व्यापार गर्ने छूट नदिइएको स्पष्ट पारे ।