काठमाण्डु, १३ असार – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले ५ बर्षभित्रमा बैदेशिक रोजगारका लागि बाध्यकारी हिसावले जान नपर्ने गरी सरकारले स्वदेशमै विभिन्न किसिमका रोजगारीका अवसर सिर्जना गर्ने काम भइरहेको बताएका छन् ।
उनले हरेक बर्ष ५ लाख जनशक्ति श्रम बजारमा आउने र २० प्रतिशतले मात्रै आन्तरिक रोजगार पाउने बताए ।
उनले त्यसका लागि कृषि, पर्यटन, उद्योग, लगायतका क्षेत्रको सम्भाव्य अध्ययन भइरहेको र स्वदेशमै रोजगारी उपलव्ध गर्न सरकार सक्षम हुने पनि बताए ।
बुधबार विनियोजन विधेयकमाथि संसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ४३ लाख श्रमशक्ति विदेशमा काम गर्न गएको भन्दै रोजगारी सिर्जना गर्न सरकारले आगामी बर्षमात्रै एक लाखलाई रोजगारी दिने गरी काम भइरहेको बताए ।
उनले उद्योग, शिक्षा, स्वास्थ्य सरकारी, नीजि क्षेत्र र सहकारीको सहकार्यबाट सरकारले स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न लागेको पनि बताए ।
उनले बैदेशिक सुचनाको पहुँच विस्तार प्रदेशस्तरमा गरिएको भन्दै बैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगि रोक्ने पहलमा आफु लागि रहने बताए ।
बैदेशिक रोजगारीका क्रममा ११ हजार ९३ उजुरी परेका र केही उजुरीको छानवीन भएको भन्दै मन्त्री विष्टले ७७७ श्रमिकको मृत्यु भएको जानकारी दिए ।