असार २९, २०७५/ काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले किम जोङ–उनको एक पत्र प्रकाशित गरेका छन् जसमा उत्तर कोरियाली नेताले द्विपक्षीय सम्बन्धमा ‘नयाँ भविष्य’ को आशा व्यक्त गरेका छन् । ट्रम्पले किमबाट एक हप्ताअघि प्राप्त पत्र ‘एकदम राम्रो’ भनी प्रतिक्रिया दिए ।

पत्रमा प्योङयाङले निःशस्त्रीकरणका लागि गरेको कुनै पनि प्रयासको उल्लेख गरिएको छैन । सिंगापुरमा यी दुवै नेताबीच भएको ऐतिहासिक सम्मेलनका बेलामा कुराकानी गरिएको प्रमुख विषय नै पत्रमा परेको छैन । किमले पठाएको चार अनुच्छेदयुक्त पत्रको अंग्रेजी अनुवाद ट्रम्पले बिहीवार ट्वीट गरेका थिए ।

पत्रमा किम लेख्छन् : ‘म महामहिम राष्ट्रपतिबाट गरिएका उत्साहपूर्ण र असाधारण प्रयासको गहिरो प्रशंसा गर्छु ।’ उनले द्विपक्षीय विश्वासलाई भविष्यको प्रक्रियालाई थप सुदृढ बनाउनुपर्ने बताए । किमले द्विपक्षीय सम्बन्धको प्रवर्द्धनका लागि भएका युगान्तकारी प्रगतिले हामीबीचको अर्को भेट सम्भव गराउने लेखे । यो पत्र प्रकाशित गरेर राष्ट्रपति ट्रम्पले ट्वीट गरे, ‘ठूलो प्रगति गरिँदैछ ।’ उनले यसको थप व्याख्या गरेनन् ।

अर्को प्रसंगमा अमेरिकाले उत्तर कोरियाविरुद्ध प्रशोधित तेल उत्पादनमा संयुक्त राष्ट्रसंघले निर्धारण गरेको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ । अनि अर्को प्रसंगमा उत्तर कोरियाका अधिकारीहरू सन् १९५०–५३ को कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकको भौतिक अवशेषलाई अमेरिका फिर्ता गर्ने विषयमा हुने वार्तामा भाग लिन आएनन् ।बीबीसीबाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter