साउन-१०, पोखरा / बिगत लामो समय देखि विवादित रहेको पोखरा पालिके चोकको विवादमा अन्तत सहमति जुटेको छ । निरन्तर १३ महिनाको अभ्यासपछि पोखराको पालिखेचोक विवाद टुंगिएको छ । स्थानीय तहको चुनावपछि जनप्रतिनिधीले पदभार ग्रहण गरेसँगै पालिखेचोक फराकीलो पार्ने निर्णय गरिएको थियो । तर मुआब्जामा कुरा नमिलेपछि समय लम्बिएको हो । जग्गाधनीमध्ये २ जनाले मुआब्जा बुझिसकेका छन् भने बाँकी २ जनाले पनि मुआब्जा बुझ्नका लागि निवेदन पेश गरेका छन् । असार ११ गते प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले मुआब्जा टुंग्याएको हो ।

मुआब्जा निर्धारण हुने वित्तिकै १५ दिने सूचना जारी गरी मुआब्जा बुझ्न बोलाईएको थियो । सूचनाको म्याद विहिबार सकिएको छ । विहिबारसम्म वसन्त उदास र प्रदीपशंकर पालिखेले मुआब्जा बुझेका हुन् । बसन्त उदासको नाममा सूचना जारी भएपनि सोही कित्तामा ३ जनाको संयुक्त लालपुर्जा रहेकोले तीनैजनाको नाममा रकम निकासा गरिएको महानगरपालिकाले जनाएको छ । वसन्तसँगै दुधमान उदास, मिश्री उदासको नाममा मुआब्जा दिईएको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठले मुआब्जाका लागि निवदेन दिएका छन् ।

समितिले मुआब्जा दिनुपर्ने जग्गाको मूल्य प्रतिबर्ग मिटर १ लाख २० हजार रुपैयाँका दरले तोकेको थियो । सोही अनुसार घरको मूल्य समेत थप गरी मुआब्जा वितरण गरिएको छ । जग्गामा मुआब्जा निर्धारण समितिले टुंगो लगाएपनि घरको हकमा चाहीँ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पोखराले अध्ययन गरेर मुआब्जा टुंग्याएको हो । जग्गाधनीमध्ये बसन्त उदासले ७६ लाख ८३ हजार ५२ रुपैयाँ बुझेका छन् भने प्रदीपशंकर पालिखेले ४५ लाख २४ हजार बुझेका छन् ।

किशोरादेवी श्रेष्ठको ७३ लाख १६ हजार र कृष्णमान श्रेष्ठको ६६ लाख ९६ हजार रुपैयाँ मुआब्जा छ । मुआब्जा बुझ्न बाँकी रहेकाको नयाँ खाता सुरु हुने वित्तिकै रकम उपलब्ध गराईने महानगरले जनाएको छ । वडा नम्बर ३ मा रहेको बसन्तको ६०.६ बर्गमिटर, वडा नम्बर ९ मा रहेको किशोरीदेवीको ५४.१३ बर्गमिटर, कृष्णमानको ५०.४५ बर्गमिटर र प्रदीपको ३३.८ बर्गमिटर जग्गा अधिग्रहण गरिएको हो ।

पालिखेचोकको १ सय ९९ बर्गमिटर जग्गा अधिग्रहण गरिएको छ । मुआब्जाको सबै काम टुंगिएकोले जतिसक्दो छिटो बाटो चक्ल्याउने पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले बताए । ‘वडाबासीको सहयोग विना विकास सम्भव छैन । पालिखेचोकका नागरिकहरु विकासप्रेमी छन् भन्ने प्रमाणित भएको छ, उनले भने–लामो समयदेखिको हाम्रो प्रयास सफल भयो । सहयोगी सबैलाई धन्यवाद ।’ मुआब्जा बुझिसकेकाको घर १० दिनभित्र हटाउने र बाँकी रहेकाको चाहीँ मुआब्जा बुझेको हप्तादिनभित्रै भत्काईने उनले जानकारी दिए । ‘विगत ४० बर्षदेखि पोखरेलीको भावनासँग जोडिएको काम सफल भएको छ । जनताले जनप्रतिनिधी आएको महसुस गरेका छन्, बास्तोलाले भने ।’

मेयर मानबहादुर जिसीले पनि जतिसक्दो छिटो सडक फराकीलो बनाउने बताए । ४० बर्षदेखि पालिखेचोकमा मापदण्डले छुने संरचना हटाउने अभ्यास गरिएपनि सम्बन्धित निकाय पटकपटक असफल भएको थियो । अहिले भने महानगरले मुआब्जा दिएरै मापदण्ड क्लियर गर्ने काम गर्न लागेको हो । ‘पालिखेचोक हटाउने कुरा अहिलेको हैन । तर काम कसैले पनि आँट्न सकेनन्, मेयर जिसीले भने–हामी निर्वाचित भएपछि पहिलो नजर नै पालिखेचोकमा थियो । धेरैको सहयोगपछि मुआब्जा टुंगिएर भत्काउने चरणमा पुगेका छौं ।’

सरकारले तोकेकै दररेटमा जग्गाधनीले मुआाब्जा बुझेका हुन् । सुरुमा सही मुल्यांकन नभएको भन्दै मुआब्जा बुझ्न मानेका थिएनन् । तर पछि विकासका काममा अवरोध नगर्ने भन्दै सहज रुपमा मुआब्जा लिन तयार भएका हुन् । सडक फराकीलो बनाउन तत्कालै ४ वटा घर हटाउनुपर्छ । यसकै लागि गएको पुसमा युवा क्लवको भवन र चौतारो समेत भत्काईएको थियो ।

DNA नेपालका लागि प्रकाश ढकालले लेखेका छन्

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter