मोरङ,साउन १७ — विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत शौरभ उप्रेतीको शंकास्पद मृत्यु भएको छ । बाराको कोलवी नगरपालिका–८ घर भइ विराटनगर–४स्थित नेत्र कार्कीको घरमा डेरा गरी बस्दै आएका २४ वर्षीय उप्रेती बुधबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।अजको कान्तिपुर दैनिकमा समाचार छ ।
‘उप्रेतीले घाँटीमा कम्प्युटरको चार्जरको तार बेरिएर मृत्यु भएको देखिएको छ,’ उनले भने, ‘शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।’ सुर्खेतको विरेन्द्रनगर घर भई नोबेलमासँगै पढदै आएका कुबेरसिंह थापा र उप्रेती एउटै कोठामा बस्दै आएको थिए ।
राती सँगै आ–आफ्नो बेडमा सुतेको तर बिहान उठेपछि घाँटीमा तार बेरिएको अबस्थामा देखेपछि तत्काल उपचारका लागि अस्पताल लगेको भनी थापाले बताउँदै आएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले घटना शंकास्पद भएकाले केही व्यक्तिलाई निगरानीमा राखेर गहन रुपमा छानबिन भइरहेको श्रेष्ठले सुनाए ।