काठमाडौं,साउन २३- सरकारले हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको छ। पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको हो।आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका उपमहानगरपालिका र महानगरपालिकामा हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारी सञ्चालनमा रोक लगाइनेछ। यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले प्रदूषण परीक्षणमा अनुत्तीर्ण निजी र सार्वजनिक चारपांग्रे सवारीसाधन सञ्चालनमा भदौदेखि रोक लगाइने जानकारी दिए। इन्जिन मर्मत नगरी सञ्चालन गरिने पुराना सवारीसाधनबाट निस्कने प्रदूषण नियन्त्रण गर्न यो व्यवस्था गर्न लागिएको हो। विभागले २०७५ वैशाख १ गतेदेखि नै प्रदूषण मापदण्डभित्र नपरेका सवारीमा पूर्ण बन्देज लगाउने निर्णय गरेको थियो। तर, पूर्वतयारी नभएकाले ढिला भएको हो।

उनले भने, ‘वैशाखमा नभएपछि साउन १ गतेदेखि नै हरियो स्टिकर अनिर्वाय गर्ने तयारी गरेका थियौं’, समयमै सम्पूर्ण कार्यालयमा प्रदूषण जाँच गर्ने उपकरण पुर्‍याउन सकेनौं। प्रदूषण जाँचका लागि कर्मचारीलाई तालिमसमेत उपलब्ध गराउन नसक्दा केही ढिला भयो।’ काठमाडौं उपत्यकासहित उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने चारपांग्रे सवारीसाधनले आफूलाई पायकपर्ने यातायात व्यवस्था कार्यालयमा परीक्षण गराएर हरियो स्टिकर लिनुपर्नेछ। प्रदूषण जाँच गरेर हरियो स्टिकर प्राप्त गर्न सवारीसाधनले ३५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। जाँचमा अनुत्तीर्ण भएका तर सञ्चालनमा रहेका सवारीसाधनबाट दुई हजार रुपैयाँसम्मको जरिवाना गराउने व्यवस्था छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter