साउन २३, काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ संस्था युवा र विद्यार्थी संगठनको एकतामा अन्तिम चरणमा पुगेको छ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपालको एकतापछिको नाम र नेतृत्वबाहेक सबै कुरा मिलिसकेको एकता कार्यदलका सदस्य तथा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

कार्यदलमा नाम र नेतृत्वका बारेमा सहमति गर्नका लागि हामी प्रयासरत रहेका छौं , उनले भने, ‘‘यदि कार्यदलमा सहमति हुन नसके हामी पार्टी नेतृत्वबाट नै सहमति गर्नेछौँ ।’’दुवै संगठनले नेतृत्वका लागि दावी गरिरहेका छन् । उनले आगामी भदौ ५ गते एकता गर्ने गरी कार्यदलको प्रतिवेदन शुक्रबार पार्टी महासचिवलाई बुझाइने बताए ।उनका अनुसार संगठनको नाम युवा कम्युनिष्ट लिग नेपाल वा समाजवादी कम्युनिष्ट युवा नेपाल वा नेपाली युवा फेडेरेशन वा नेपाल समाजवादी युवा संघ प्रस्ताव गरिएको छ ।

यसैगरी नयाँ बन्ने केन्द्रीय कार्यसमिति १९९ सदस्यीय रहने गरी विधान टुङ्ग्याइएको उनले जानकारी दिए । कार्यसमितिमा संयोजक, सहसंयोजक, नौ सदस्यीय स्थायी कमिटी र केन्द्रीय कमिटीको एक तिहाइ सचिवालय रहनेछन् । यसैगरी अर्को भ्रातृ सङ्गठन विद्यार्थीको पनि एकता अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले विधान मस्यौदा, संगठन समायोजन र राजनीतिक शैक्षिक कार्यदिशा उपसमितिले एकताका लागि प्रतिवेदनलाई अन्तिम रुप दिन थालेका छन् ।

अनेरास्ववियू र क्रान्तिकारीले पनि अन्य विषयमा सहमति गरे पनि नेतृत्व र नामका विषयमा अझै टुङ्ग्याएका छैनन् । नेतृत्व र नाम दुवै पक्षले आआफ्नो नाम राख्ने अडानमा रहेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटी १९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।

दुवै संगठन समायोजन हुँदा भने ४९९ जनाको केन्द्रीय कमिटीको नाम प्रस्ताव गरिएको छ । उनले भदौ २५ गतेसम्म सबै काम टुङ्ग्याएर पार्टीलाई प्रतिवेदन बुझाइने जानकारी दिए । गत जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र )बीच पार्टी एकता भएको थियो । सबभन्दा पहिले दुवै पार्टीका इञ्जिनीयरहरुको सङ्गठनको पहिलो पटक एकता भएको हो । पार्टीले भदौ १५ भित्र सबै भ्रातृ सङ्गठनको एकता सक्ने गरी सबै कार्यदललाई निर्देशन दिइसकेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter