काठमाडौँ, १० भदौ/ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदीले आज रक्षाबन्धन लगाइदिनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले केन्द्रकोे आपसी स्नेह, सद्भाव, एकता र भाइचाराको अभियान सशक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै रक्षाबन्धनले सबैलाई सद्बुद्धि प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको केन्द्रले जनाएको छ । राजदिदीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई पनि रक्षाबन्धन लगाइदिनुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सो अवसरमा प्रधानमन्त्री ओलीले यस पर्वले सबैलाई सकारात्मक बाटामा हिँड्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो ।

सभामुख कृष्णबहादुर महरा, पूर्वराष्ट्रपति डा रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई पनि रक्षाबन्धन बाँध्ने काम सम्पन्न भएका केन्द्रले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत प्रहरी अधिकृतका साथै केन्द्रीय कारागार, भद्रबन्दीगृह तथा महिला कारागारका बन्दीलाई संस्कार शुद्धिको वाचासहित रक्षाबन्धन लगाइएको जनाइएको छ ।

विभिन्न सैनिक ब्यारेक, नेपाल प्रहरी तालीम केन्द्र, सशस्त्र प्रहरी क्याम्प, प्रहरी अस्पताल, वृद्धाश्रमलगायत स्थानमा पनि ब्रह्माकुमारी बहिनीहरूबाट राखी बाँध्ने काम सम्पन्न भएको छ । प्रत्यक्ष उपस्थित हुन नसक्ने विविध संघसंस्थाका प्रतिनिधि, सांसद, कर्मचारीलगायत १० हजार शुभेच्छुकलाई खाममा रक्षाबन्धन राखेर पठाइएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter