काठमाडौँ, १२ भदौ । गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बङ्गला विमान दुर्घटनाका लागि जहाजको क्याप्टेनलाई दोषी देखाइएको छ । आधिकारिक छानबिन समितले तयार पारेको रिपोर्टको मस्यौदामा विमानका क्याप्टेन ‘भावनात्मक रुपमा विक्षिप्त रहेको’ उल्लेख गरिएको छ । यही नै विमान दुर्घटना हुनुको मुख्य कारण रहेको रिपोर्टको निष्कर्ष छ ।

आफ्नै को–पाइलटले ‘असल प्रशिक्षक’ को ख्यातिमा प्रश्न उठाएपछि उनी तनावमा थिए र मानसिक रुपमा अशान्त । विमान उडाइरहँदा ककपिटमा बसेर निरन्तर चुरोट पिइरहेका थिए। यही क्रममा धेरैपटक रोए । ढाकादेखि काठमाडौंसम्मको छोटो उडानमा पनि क्याप्टेन अविद सुल्तानले को–पाइलटलाई आफ्नो निपूणता र क्षमताबारे बताउन एकसुरमा बोलिरहेका थिए । यसले गर्दा उनको ध्यान भंग भइरहेको थियो ।

उनको कमाण्डमा रहेको युएस–बंगला एयरलाइन्सको बम्बार्डियर ड्यास ८ क्यु ४०० विमान त्रिभुवन विमानस्थलको रन वे नजिकै पुग्दै थियो। मानसिक रुपमा अशान्त अवस्थामा रहेका क्याप्टेन सुल्तानले अचानक विमानको दिशा परिवर्तन गरे। तर गतिलाई नियन्त्रण गर्न सकेनन् र ल्याण्डिङअघि गर्नुपर्ने आवश्यक परीक्षण गर्न सकेनन् । र, विमान धावनमार्गनजिकै दुर्घटनामा पर्‍यो।

५१ जनाको ज्यान जाने गरी गत मार्चमा भएको युएस–बंगला एयरको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समितिको प्रारम्भिक प्रतिवेदनमा क्याप्टेनको मनोदिशाबारे उल्लेख गरिएको च्यानल न्युज एशिया अनलाइनले जनाएको छ। दुर्घटनामा २० यात्रु बँच्न सफल भएका थिए।

यसअघि पाइलट र एयर ट्राफिक कन्ट्रोलबीच समन्वय अभावमा विमान दुर्घटनामा परेको सार्वजनिक भएको थियो। एयर ट्राफिक कन्ट्रोलले रनवे ०२ र रनवे २० बीच दुविधा उत्पन्न गराएको उल्लेख गरेपनि त्यसबाट उडानमा कुनै असर नगर्ने निष्कर्ष यसअघिको प्रतिवेदनमा उल्लेख गरिएको थियो।
गण्डकीटाईम्स बाट 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter