काठमाडौं, २२ भदौ / लालपुर्जा साथमै भएपछि आफ्नो  घरजग्गा सुरक्षित रहेको ठान्नै प-यो । तर, अब भने प्रश्न पैदा भएको छ । लालपुर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ ।यस्तै भएको छ चन्दनकृष्ण कायस्थलाई ।

बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनैलाई पत्तो नदिई बेचिदिएका छन् । नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भएको हो । मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको खुलेको हो । प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुनील मल्लका अनुसार किर्ते कागजपत्र बनाई जग्गा बेच्ने प्रदीपकुमार गौतम तथा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार भूमाफियाको एक समूहले मालपोत र नापी कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर सो जग्गा बिक्रीको योजना बनाएका हुन् ।

योजनाअनुसार नै मालपोत कार्यालयमा राखिने जग्गाधनीको स्रेस्तामा कायस्थको फोटो उप्काएर गौतमको फोटो टाँसियो । कायस्थकै नाममा नक्कली नागरिकता र लालपुर्जा तयार भयो र जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको थियो । मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी उनीहरूले जग्गा पास गराएका थिए ।

जग्गा बिक्री भएलगत्तै सूचना पाएका कायस्थ मालपोत पुगे । मालपोतका कर्मचारीले घटना मिलाउन उनलाई आग्रह गरे । त्यसपछि उनले कर्मचारीको नियत पत्तो पाइहाले । ‘कर्मचारीको संलग्नताको विषयमा अनुसन्धान भइरहेको छ,’ डिएसपी मल्ल भन्छन्, ‘यसमा ठूलै गिरोह छ जस्तो देखिन्छ, अनुसन्धान गरिरहेका छौँ ।’

सरकारी रेकर्डबाट जग्गाधनीको स्रेस्ताबाट फोटो नै हेरफेर गर्नुबाटै यसमा कर्मचारीको मिलेमतो प्रस्ट हुने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । नक्कली लालपुर्जा र नागरिकता परीक्षण नै नगरी मालपोत कर्मचारीले जग्गा पास गरिदिएका थिए ।

विगतमा पनि भूमाफियाको समूहले यसरी महँगा जग्गा मालपोत कर्मचारीसँगको मिलेमतोमा बिक्री गरेको र पटक–पटक कर्मचारीहरू पक्राउ परेका छन् । यस्तो कारोबारमा करोडौँको चलखेल हुने भएकाले कर्मचारीहरू सजिलै बिक्ने गर्छन् ।- नयाँ पत्रिकाबाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter