एजेन्सी- सुडान दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको पुष्टि भएको छ । “आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताउनुभयो । घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताउनुभयो ।
उहाँले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताउनुभयो । एक इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ भने एक जनाको अझै परिचय खुल्न सकेको छैन । दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज भएको मन्त्री अबेलले बताउनु भयो । मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेको बुझिएको छ ।
दुर्घटनापछि इरोल शहर शोकमा डुबेको छ । विमान दुर्घटनापछि इरोल शहरका पसलहरू बन्द भएका छन् । विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको भन्ने रिपोर्टहरू आफुले पाएको सूचनामन्त्रीले बताउनुभयो । संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित रेडियो मिरायाले आफ्नो आधिकारिक ट्वीटर पेजमा विमानको भग्नाबशेष पानीमा डुबेको तस्वीर सार्वजनिक गरेको छ ।
दक्षिण सुडानमा भारबहन क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कुरा सामान्य रहँदै आएको गर्दा आइतबारको दुर्घटनाको कारण पनि यस्तै भएको हुनसक्ने विश्वास गरिएको छ । यस पहिले सन् २०१५ मा सोभियत संघ विघटनपूर्व बनेको एन्टोनोभ नामक विमान राजधानी जुबामा दुर्घटनाग्रस्त हँुदा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो ।