लमजुङ, भदौ २७ / बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मस्र्याङदी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनीहरुलाई उपचारको लागि खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको डीएसपी यादव ढकालले बताए । बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरकी अन्दाजी ४० वर्षीय विष्णुकली गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको स्थानीय पूर्णबहादुर गुरुङले बताए ।

प्रहरीका अनुसार मस्र्याङ्दीमा एक्कासी बढेको बहाबले बगाउँदा बेंसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जना युवक बेपत्ता छन् । ३० वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मण थारुलाई बगाएको प्रहरीले जनाएको छ ।

यस्तै, बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म पहिरोले अर्खलेबेंसीमा २ जनालाई बगाएको स्थानीयले बताएका छन् । मस्र्याङदी गाउँपालिका ३ को अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षको ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नामथर खुल्न नसकेका एक वृद्धलाई बाढीले बगाएको स्थानीय जगत गुरुङले बताए ।
Source : dnanepal.com

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter