काठमाडौं,असोज ३- मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा वर्ष २९ का सञ्जय उराव, वर्ष २६ का विशाल बुढाथोकी र मिमबहादुर घलेको नाम खुलेको र बाँकी तीनजनाको नाम खुल्न बाँकी मलेसियाका लागि कार्यवाहक राजदूत कुमार राज खरेलले जानकारी दिए ।
विषाक्त रक्सी पिउँदा अरु १७ जना नेपाली बिरामी भएका छन् । उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
उनीहरुमध्ये केहीको अवस्था चिन्ताजनक रहेको पनि बताइएको छ । राजधानी क्वालालम्पुर नजिकै रहेको सेलाङ्गोर क्षेत्रमा काम गर्ने नेपालीहरुले आइतबार छुट्टीको दिन विषाक्त रक्सी सेवन गरेका थिए ।
मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिक रहेका छन् ।
मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । १४ जनाको अवस्था गम्भीर रहेको छ ।