काठमाडौं, असोज ३ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । नेपाल यातायात व्यवसायी महासंघले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै सरकारले ४८ घन्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दसैंको अग्रिम टिकट बुकिङ रोक्ने चेतावनी दिएको हो।
चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ”, विज्ञप्तिमा भनिएको छ ।
सरकारले सोमबार मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ। स्वचालित मूल्य प्रणाली अनुसार भारतीय आयल कर्पोरेशनबाट प्राप्त भएको सूची अनुसार सरकारले पेट्रोल प्रतिलिटर दुई र डिजेल र मट्टतिटेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ बढाएको हो।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले दसैंको मुखमा डिजेल र पेट्रोलको मूल्य बढाउनु सरकारको हेपाहा प्रवृत्ति भएको आरोप लगाउँदै मूल्य वृद्धि फिर्ता नभए पूर्वसहमति अनुसार दसैंका लागि टिकट बुकिङ नहुने चेतावनी दिएका हुन्। भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासङ्घबीचको बैठकले असोज ५ गते अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
You must be logged in to post a comment.