काठमाडौं,असोज ८ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको भन्दै देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकुल अघि बढ्न पनि नेता, कार्यकर्तालाई आहृवान गरे ।

पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलामा उनले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरु विगतमा अलमलिएर बस्न नहुने पनि स्पष्ट पारे ।

सभापति देउवाले मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको कांग्रेसले पार्टीको विधान पनि राम्रो बनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।

सभापति देउवाले संविधानलाई आधार बनाएर पार्टीलाई बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न पनि विधान संशोधन मस्यौदा समितिलाई आग्रह गरे । पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सोमबारदेखि सुझाव संकलनको काम सुरु गरिएको हो ।

विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन कांग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको हो । प्रदेशबाट आउने छलफलपछि त्यसलाई अन्तिम रुप दिने समितिका संयोजक एवम् कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानबिन समितिलगायतका समितिहरु पनि प्रस्ताव गरिएको छ । समितिले तयार पारेको विधान संशोधन मस्यौदालाई कांग्रेसको मंसिरमा आयोजना हुने महासमिति बैठकले व्यापक छलफल गरी अनुमोदन गर्नेछ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter