काठमाडौं,असोज १७- साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न भएको आरोपमा निलम्बनमा परेका दुई प्रहरी अधिकृतका निलम्बन फुकुवा भएको छ।   सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनालको निलम्बन फुकुवा भएको हो । । फौजदारी अभियोगमा प्रतिवादी रहेकालाई गृहमन्त्रालयले निलम्बन गरेको थियो ।  प्रहरी अधिकारीलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न बैशाख २१ मा आदेश दिएको थियो । तर, उच्च अदालत विराटनगरले विभिन्न मितिमा साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भइसकेका छन् ।

प्रहरी नियमावलीको २०७१ को नियम ११५ को उपनियम ८ मा अनुसार निलम्बन फुकुवा गरिएको स्रोतले जनाएको छ । तीनैजना प्रहरी अधिकारीले साधारण तारेखमा रिहा भएपछि निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए । सनम शाक्य हत्याको अनुसन्धानका लागि अपराध महाशाखाको टोली कार्यक्षेत्र नाघेर मोरङ गएको, प्रमाण नष्ट गरेको र मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई भगाउन सघाएको खुलेको थियो । तत्कालिन महाशाखा प्रमुख रहेका एसएसपी लोहनीले डिएसपी केसीको नेतृत्वमा टोली मोरङ पठाएका थिए ।

सरकारले २० चैत २०७४ को मन्त्रिपरिषद्को निर्णयले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले यी तीनै अधिकारीको घटनामा संलग्नता रहेको अभियोग सहित प्रतिवादी बनाएको थियो । मोरङ उर्लाबारीका सनम शाक्यको १८ फागुन २०७४ मा अपहरणपछि हत्या भएको थियो । पौडेल नेतृत्वको अनुसन्धान टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ महिनामा ३ हजार ८ सय किलो सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो ।

यस्तै विमानस्थलमा कार्यरत रहँदा र मकवानपुर प्रहरी प्रमुख भै सकेपछि पनि एसपी खनाल र गोरेबिच निकट सम्बन्ध रहेको अनुसन्धानमा खुलेको थियो । अनुसन्धान टोलीले बरामद गरेका डायरीमा खनाललाई पाँच लाख रुपैयाँ तस्करीमा सघाए बापत भुक्तान गरेको खुलेको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter