काठमाडौं, कात्तिक ३

साउदी अरेबियाले १८ दिनदेखि बेपत्ता पत्रकार जमाल खाशोग्गीको अन्ततः मृत्यु भएको पुष्टि गरेको छ । बेपत्ता पत्रकार खाशोग्गीको सम्बन्धमा साउदीका राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोनमा कुराकानी गरेको केहीबेरमै साउदी टेलिभिजनले उनको मृत्यु भएको समाचार प्रसारित गरेपछि यसको पुष्टि भएको हो ।

पत्रकार खाशोग्गीको टर्कीको स्थानबुलस्थित कन्सुलर कार्यालयमा भएको झडपको क्रममा मृत्यु भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । २ अक्टोबरदेखि बेपत्ता पत्रकार खाशोग्गी अमेरिकी पत्रिका द वासिंगटनसँग आबद्ध थिए । उनको हत्यामा संलग्न रहेको पुष्टि भएपछि साउदी अरेबियाको गुप्तचर निकायका उपप्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई पनि बर्खास्त गरिएको साउदी टीभीले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

यसअघि उनको बारेमा केही जानकारी नभएको बताउँदै आएको साउदीले उनको मृत्यु भएको पुष्टि गर्नु र घटनामा दोषी देखिएकालाई बर्खास्त गरिएको समाचारलाई अमेरिकाले स्वागत गर्नुका साथै यसपछि खाशोग्गी घटनाका सम्बन्धमा हुने सबै अनुसन्धानलाई पनि निगरानी गर्ने जनाएको छ ।

किन भयो हत्या ?

उनले साउदी सरकारका कतिपय नीतिको आलोचना गर्दै आएका थिए। वाणिज्य दूतावासभित्रै साउदी एजेन्टहरूको एउटा समूहले खशोग्गीको हत्या गरेको टर्कीका अधिकारीहरूको विश्वास छ। र, त्यो डरलाग्दो हत्याबारे अडियो (श्रव्य) रेकर्डिङसहितका प्रमाण आफूहरूसँग रहेको अंकाराको भनाइ छ। यद्यपि अहिलेसम्म अंकाराले ती प्रमाणहरू सार्वजनिक गरेको छैन।

को हुन् जमाल खशोग्गी ?

उनी एक चर्चित पत्रकार हुन्, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे। दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे। तर पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए। त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे। आफ्नो पहिलो स्तम्भमा खशोग्गीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए।
बेपत्ता हुनु तीन दिनघि बीबीसीको न्यूजआवर कार्यक्रममा उनले भनेका थिए, ‘विरोधी हुँदैमा मानिसहरू गिरफ्तार भइरहेका छैनन्, स्वतन्त्र विचार राख्नेहरू पनि गिरफ्तार गरिँदैछन्।’

खशोग्गी किन वाणिज्य दूतावास गए ?

आफ्नी पूर्वश्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित भएको कागजात लिन सेप्टेम्बर २८ मा पहिलो पटक उनी वाणिज्य दूतावास गए ताकि उनले बिहेको छिनोफानो भएको टर्कीकी महिलासँग विवाह गर्न सकून्। तर त्यसका लागि उनलाई अक्टोबर २ मा फेरि वाणिज्य दूतावास आउन भनियो। बिहेको छिनोफानो भएको टर्कीकी महिलाले द वाशिङ्टन पोस्टमा लेखेकी छन्, ‘साउदी वाणिज्य दूतावास जान उहाँले अप्ठयारो मान्नुभएन किनकि उहाँलाई थाहा थिएन टर्कीको भूमिमा केही नराम्रो हुन सक्ला। आफ्नो दोस्रो भ्रमणअघि जमाललाई खासै चिन्ता थिएन।’ स्थानीय समय अनुसार डेढ बजेका लागि समय पाएका खशोग्गी १ बजेर १४ मिनेटमा सीसीटीभीमा देखिएका थिए। बिहे छिनिएको महिला साथीलाई आफ्ना दुईवटा फोन दिएका खशोग्गीले आफू बाहिर नआए टर्कीका राष्ट्रपतिका एकजना सल्लाहकारलाई फोन गर्न भनेका थिए। वाणिज्य दूतावासबाहिर ती महिला १० घण्टा जति कुरिन् र खशोग्गी नआएपछि फर्किन्।

साउदी अरेबिया के भन्छ ?

दुई हप्तासम्म साउदी अरेबियाले खशोग्गीबारे केही थाहा नभएको दोहोर्‍याउँदै आयो। यसै महिनाको शुरूतिर ब्लूमबर्ग न्यूजसँग कुरा गर्दै राजकुमार मोहम्मदले खशोग्गीलाई के भएको हो भन्नेबारे थाहा पाउन आफू पनि इच्छुक रहेको बताएका थिए। ‘हामीले लुकाउनुपर्ने त्यस्तो केही छैन।’ अमेरिकाका लागि साउदी अरेबियाका राजदूत समेत रहेका राजकुमार मोहम्मदका भाइ खालिद बिन सलमानले बेपत्ता वा खशोग्गीको मृत्युबारे आइरहेका खबरहरू ‘पूर्णतः झूटो र आधारहीन’ भएको बताए। तर अक्टोबर २० तारिख एकाबिहानै साउदी अरेबियाको सरकारी टेलिभिजनले बाझाबाझका क्रममा वाणिज्य दूतावासभित्रै खशोग्गीको मृत्यु भएको खबर प्रसारण गरेको छ।
एउटा वक्तव्यमा भनिएको छ, ‘अनुसन्धान जारी छ र १८ जना साउदी नागरिकलाई गिरफ्तार गरिएको छ।’ एक उच्च गुप्तचर अधिकारी अहमद अल—असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल—कतानीलाई बर्खास्त गरिएको छ। त्यस्तै १८ जनालाई गिरफ्तार गरिएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ। राजा सलमानले देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि सुझाव दिन भन्दै राजकुमार मोहम्मदको संयोजकत्वमा मन्त्रालयस्तरीय एउटा समिति गठन गर्न समेत आदेश दिएका छन्।

घटनाबारे टर्की के भन्छ ?

टर्कीका अधिकारीहरू भन्छन्, साउदी एजेन्टहरूको एउटा समूहले खशोग्गीलाई यातना दिइ मार्‍यो र त्यसपछि त्यहाँबाट शव हटाइयो। आफूहरूसँग त्यसको श्रव्य र दृश्य प्रमाण पनि रहेको एउटा सुरक्षा स्रोतले बीबीसीलाई बताएको छ। ती प्रमाणहरू भन्ने अहिलेसम्म सार्वजनिक गरिएका छैनन्। सरकार समर्थित टर्कीको एउटा पत्रिकाले भनेको छ, साउदी वाणिज्य दूत मोहम्मद अल—ओतैबीले आरोपित एजेन्टहरूलाई दूतावासभित्र नमार्न भन्दै अरेबिकमा चेतावनी दिएको कुरा टेपमा सुन्न सकिन्छ। ‘यो सब बाहिर गर। तिमीहरूले मलाई समस्यामा पार्छौँ।’

आरोपित एजेन्टहरू को हुन् ?

टर्कीका सञ्चारमाध्यमहरूका अनुसार खशोग्गी बेपत्ता भएको दिन १५ सदस्यीय सन्दिग्ध साउदी एजेन्टहरूको एउटा समूह इस्तानबुल पुगेको थियो। तिनीहरूमध्ये एकजना साउदी गुप्तचर निकायमा कर्णेल पदमा रहिसकेका र लण्डन दूतावासमा काम गरेको बीबीसीलाई थाहा भएको छ। त्यस्तै राजकुमार मोहम्मदसँग सम्बन्ध भएका चारजना र एकजना आन्तरिक मामिला मन्त्रालयका वरिष्ठ अधिकारी थिए। १९ जनामध्ये नौजना एउटा निजी विमान चढेर रियादबाट खशोग्गी वाणिज्य दूतावास गएकै दिन दिउँसो सवा ३ बजे इस्तानबुल पुगे। बाँकी सन्दिग्ध एजेन्टहरू त्यही दिन अर्को निजी विमान वा नियमित उडानबाट आएको हुन सक्ने ठानिएको छ। उक्त समूह दुईवटा निजी विमानबाट कायरो र दुबई हुँदै रियाद फर्केको अनुसन्धानकर्ताले बताएका छन्।

अक्टोबर २ का घटनाक्रम

टर्कीका सञ्चारमाध्यमहरूका अनुसार अक्टोबर २ का घटनाक्रम यसप्रकार छन्।

०३.२८ मिनेट सन्दिग्ध साउदी एजेन्टहरू सवार पहिलो विमान इस्तानबुल विमानस्थलमा अवतरण

०५.०५ मिनेट साउदी वाणिज्य दूतावास नजिकैका दुईवटा होटलमा सो समूहका सदस्यहरू प्रवेश गर्ने क्रममा देखिएको

१२.१३ मिनेट कूटनीतिज्ञले प्रयोग गरेका थुप्रै सवारीसाधन वाणिज्य दूतावास पुगेको, कतिपय एजेन्ट तिनै गाडीमा भएको देखियो

१३.१४ मिनेट खशोग्गी वाणिज्य दूतावास प्रवेश

१५.०८मिनेट सवारीसाधनहरू बाहिरिए र वाणिज्य दूतको निवासमा पुगेको दृश्य रेकर्ड भएको

१७.१५ मिनेट सन्दिग्ध एजेन्टहरू सवार दोस्रो विमान इस्तानबुलमा अवतरण

१७.३३ मिनेट बिहे छिनिएको खशोग्गीकी महिला साथी दूतावासबाहिर देखिएको दृश्य रेकर्ड

१८.२० मिनेट इस्तानबुल विमानस्थलबाट एउटा निजी विमान फिर्ता। अर्को विमान राति ९ बजे फिर्ता

कुनै प्रमाण छ ?

हत्याबारे अडियो तथा भिडिओ रेकर्डिङसहितका प्रमाण आफूहरूसँग रहेको अंकाराको भनाइ छ। यद्यपि अहिलेसम्म उसले ती प्रमाणहरू सार्वजनिक गरेको छैन। हालै अंकारा भ्रमण गरेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफूले कुनै अडिओ सुनेको दावी अस्वीकार गरेका छन्। सरकार समर्थित टर्कीको एउटा पत्रिकाले भनेको छ, साउदी वाणिज्य दूत मोहम्मद अल—ओतैबीले आरोपित एजेन्टहरूलाई दूतावासभित्र नमार्न भन्दै अरेबिकमा चेतावनी दिएको कुरा टेपमा सुन्न सकिन्छ।

टर्कीको अनुसन्धान कसरी चल्दैछ?

साउदी राजा सलमानले टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनसँग टेलिफोन वार्ता गरेपछि साउदी सरकारी सञ्चारमाध्यममा खशोग्गीको मृत्युबारे समाचार आएको हो। टर्कीको राष्ट्रपति कार्यालय स्रोतका अनुसार दुईजनाले जानकारी आदानप्रदान गरे र अनुसन्धानमा सहकार्य जारी राख्ने सहमति जनाएका छन्। टर्कीले उपलब्ध गराएका जानकारीका आधारमा साउदीले पछिल्लो कदम चालेको बताइएको छ। टर्कीको प्रहरीलाई अक्टोबर १५ मा साउदी वाणिज्य दूतावास छिर्न दिइयो। साउदी अधिकारी तथा सरसफाइ कर्मचारीहरू प्रवेश गरेको केही समयपछि प्रहरीलाई प्रवेश दिइएको थियो। टर्कीको प्रहरीले वाणिज्य दूतावासका साथै वाणिज्य दूतको निवासमा खोजतलास गरेको छ र डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरेको छ। अज्ञात स्रोतका अनुसार खशोग्गीको शव जङ्गल वा खेतमा गाडिएको हुनसक्छ। साउदी वाणिज्य दूतावासमा काम गर्ने टर्कीका १५ जना नागरिकलाई घटनाबारे टर्कीबाट सोधपुछ गरिएको छ। त्यसमा वाणिज्य दूतावासका प्राविधिक, लेखापाल र एकजना चालक लगायतका कर्मचारी रहेको बताइएको छ। (बिबिसीको सहयोगमा)
Via : Dainiki.com

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter