नयाँदिल्ली, कात्तिक ७ — आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरूको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।

घरेलु कामदारमा पठाउने भन्दै उनीहरूलाई एजेन्टले दिल्ली पुर्‍याएर बन्धक बनाएको पीडित महिलालाई उद्धृत गर्दै स्थानीय प्रहरीले जनाएको छ । २१ देखि ४५ वर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्‍याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् ।

प्रहरीका अनुसार उनीहरूलाई जबर्जस्ती बन्धक बनाइएको थियो । प्रहरीले नेपाली एजेन्टले नै ती महिलालाई बन्धक बनाएको दाबी गरेको छ । मानव तस्करीको आरोपमा केही नेपाली एजेन्टलाई समेत पक्राउ गरिएको छ । घटना पछाडि मानव तस्करी गिरोहको मुख्य नाइके दिल्लीमै रहेको आशंकासमेत प्रहरीले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter