व्यवसायिक फुटबलमा विश्वको सबैभन्दा भव्य प्रतिस्पर्धा एल क्लासिकोमा बार्सिलोनाले शानदार रुपमा बाजी मारेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिकोमा स्टार स्ट्राइकर लियोनल मेस्सी अर्थात नियमित कप्तान बिना घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ५–१ को शानदार र प्रभावशाली जित दर्ता गरेको हो ।

क्याम्प नाउमा रियल मड्रिड निकै निरिह देखियो । एल क्लासिकोमा लुइस स्वारेजले ह्याट्रिक गरे भने फिलिप कोन्टिन्हो र अटुरो भिडालले एक एक गोल गरे । रियल मड्रिडलाई गोल बिहीन हुनबाट मार्सेलोले जोगाए ।

झण्डै ११ वर्षमा अहिलेको समयका दुई सर्वोत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी बिनाको पहिलो एल क्लासिकोमा बाजी बार्सिलोनाले मारेको हो र चोटका कारण मैदान बाहिर रहेका मेस्सीको अनुपस्थिति उसले खड्किन दिएन । तर रियल मड्रिडका लागि भने कम्तिमा यो खेलका लागि रोनाल्डोको स्मरण भयो ।

बार्सिलोनाले ११ औँ मिनेटमा कोन्टिन्होको गोलबाट सुरुवाति अग्रता लियो । ३० औँ मिनेटमा पाएको पेनाल्टीमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड २–० ले पछि रह्यो ।

५० औँ मिनेटमा मार्सेलोले सुन्दर गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्किने संकेत देखाए । तर स्वारेजले ७५ र ८३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८७ औँ मिनेटमा भिडालले गोल गरेपछि बार्सिलोना ५–१ को शानदार एल क्लासिको जित दर्ता गर्न सफल भयो । मेस्सी बिनाको खेलमा स्वारेजले मास्टर क्लासको खेल प्रदर्शन गरे ।

पछिल्ला केही खेलमा लगातार खराब प्रदर्शन गर्दै आएको रियल मड्रिडका लागि एल क्लासिको लयमा फर्किने माध्यम र अवसरका रुपमा हेरिएको थियो । त्यो भन्दा पनि यो खेल भविष्य संकटमा परेका प्रशिक्षक जुलियन लोपेतेगीका लागि महत्वपूर्ण थियो ।एल क्लासिकोको लज्जास्पद हारपछि उनको रियल मड्रिडमा भविष्य लगभग सकिएको विश्लेषण गरिएको छ । उनलाई रियलले चाँडै नै बर्खास्त गर्ने सम्भावना छ किनकी यसअघि नै उनी दबाबमा थिए ।

बार्सिलोनाको मैदान क्याम्प नाउमा भएको खेल पछिल्ला केही वर्षयताको जस्तो भने थिएन । किनकी पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका दुई महान खेलाडी यो एल क्लासिकोमा थिएनन् । आइतबार राति भएको एल क्लासिको दुई क्लबबिचको प्रतिस्पर्धा मात्रै रह्यो । किनकी रोनाल्डो यहि सिजन रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गएका छन् र त्यता आफ्नो पुरानो लय सम्मात्दै गरेका छन् ।यस्तै मेस्सी अहिले चोटका कारण मैदान बाहिर छन् । उनी ला लिगा अन्तरगतकै अघिल्लो हप्ताको खेलमा मैदानमा लड्दा दायाँ पाखुराको हड्डी फ्याक्चर भएको छ र खेल्न नसक्ने अवस्थामा छन् ।

रोनाल्डो भर्सेस मेस्सी ‘राइभरी’ मा हुने मजाका पारखीलाई आइतबार रातिको एल क्लासिको त्यति उत्साहप्रद भने रहेन । झण्डै ११ वर्षमा रोनाल्डो र मेस्सी बिनाको एल क्लासिको गोलका कारण खल्लो हुन्छ कि भनेको बार्सिलोनाले गोलको वर्षा नै गर्यो । तर रियल मड्रिडका लागि रोनाल्डोको सम्झना पक्कै आयो ।

रोनाल्डो र मेस्सीले खेलेका ३० एल क्लासिकोमा भएका समग्र गोलमा झण्डै आधामा दुई खेलाडीको सहभागिता छ । दुवै क्लबले गरेर ३० एल क्लासिकोमा १०१ गोल गरेकोमा मेस्सीले २० गोल गरे भने ११ गोलका लागि सहयोग गरे ।

यसैगरी रोनाल्डोले १८ गोल गरे भने एक गोलक ाल ागि सहयोग गरे । यसको अर्थ उनीहरु ५० गोलमा प्रत्यक्ष सहभागी भए । कुल एल क्लासिकोको कुरा गर्दा मेस्सी ३८ मा खेलेका छन् र २६ गोल तथा १४ गोलका लागि सहयोग गरेका छन् ।मेस्सी एल क्लासिकोको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । रोनाल्डोको भने क्लब छोडेकाले ३० खेल, १८ गोल र एक गोलका लागि सहयोगमै अडिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter