भगवान बुद्धको जन्मस्थानको विषयमा किटान गरिएको सबैभन्दा पुरानो र पहिलो प्रिन्ट पत्रिका । सन् १८९७ को एक जर्मन पत्रिका Beilage Zur Allgemeinen Zeitung जहाँ बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भनेर लेखेको छ | सन् १७९८ देखि नियमित प्रकाशित हुँदै आएको उक्त पत्रिकामा लेखक कुर्ट क्लेमले ‘क्युनिक अशोका’ अर्थात् ‘राजा अशोका’ शीर्षकमा सम्राट अशोक र गौतम बुद्धका बारेमा लेखेका छन्। क्लेमले उक्त लेखमा सम्राट अशोकलाई प्रगतिशील समयका सामाजिक सुधारक भनेका छन्। उनले अशोक स्तम्भमा गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएको भनेर लेखेका छन्। सम्भवत: यस बुद्धको जन्मस्थानको विषयमा किटान गरिएको सबैभन्दा पुरानो पत्रिका र पहिलो प्रिन्ट पत्रिका मानिन्छ ।

सो लेख ८ पृष्ठको रहेको छ । सम्राट अशोकलाई केन्द्रमा राखेर लेखिएको उक्त लेखमा प्रस्टसँग बुद्धको जन्मस्थान नेपालको कपिलवस्तु स्थित लुम्बिनीमा रहेको तथ्य उल्लेख गरेको छ ।

भारतमा व्रिटिश शासनकालको समयमा इस्ट इन्डिया कम्पनीका प्रमुख स्मिथले जर्मनीका पुरातत्वविद् आन्टोन फ्युररलाई नेपाल सरकारको अनुमतिमा लुम्बिनीको अध्ययन-उत्खननका लागि चाँजोपाँजो मिलाइदिएका थिए । सन् १८९६ मा फ्युररले थालेको उत्खनन कार्यमा नेपाल सरकारका तर्फबाट खड्गशमशेर राणा खटिएका थिए । त्यो कुरा आल्गेमाइनन चाइटुङ्को लेखमा उल्लेख छ । त्यसमा सम्राट अशोकले आफ्नो कार्यकालमा गौतम बुद्धको ऐतिहासिकता उत्खनन कार्यमा गरेका महत्त्वपूर्ण प्रयासहरूको विवरण र सम्राट अशोकको जीवनी समेटिएको छ । सम्राट अशोकले आफ्नो शासनकालमा अशोक स्तम्भ मात्रै गाडेनन्, पाँच-पाँच वर्षमा आफूले गाडेको स्तम्भ र निर्माण गरेका स्तूपहरूको अवलोकन गर्ने थितिसमेत बसालेका थिए ।

सम्राट अशोकले बुद्धको अस्तुधातुलाई ८४ हजार टुक्रा बनाएर नेपाल र भारतका विभिन्न भागमा पुर्‍याएका थिए । त्यति नै संख्यामा स्तुपाहरू निर्माण गर्न लगाएका थिए । त्यसैगरी उनले गौतम बुद्ध जन्मेको, देहत्याग गरेको र ज्ञान प्राप्त गरेको सबै ठाउँको पहिचान गर्नुका साथै बुद्धको प्रचारप्रसार समेत गरे । सम्राट अशोकले यति नगरेको भए आज बुद्धको जन्मस्थानका रूपमा न लुम्बिनीले मान्यता पाउँथ्यो, न बुद्धको जीवनीका बारेमा नै सही तथ्य थाहा हुन्थ्यो ।

उक्त उत्खननपछि फ्युररले एन्टिक्युटी अफ नेपलिज तराई नामक पुस्तक पनि लेखेका छन् । उनले त्यस पुस्तकमा पनि गौतम बुद्ध नेपालको लुम्बिनी कपिलवस्तुमा जन्मिएका हुन् भनेर किटान गरेका छन् । भारत स्वतन्त्र भएपछि उक्त किताबका कैयन् संस्करणहरू भारतबाटै प्रकाशित भएको समेत तथ्य छ । बुद्धको जन्मस्थानका विषयमा यतिका धेरै ऐतिहासिक प्रमाण र कुनै समय भारतले समेत स्वीकार गरेको विषयमा अहिले बुद्ध भारतमै जन्मेको भनेर हल्ला फैलाउनुको कुनै तुक छैन । ( साभार -कान्तिपुर/नेपालको धेरै बर्ष पुरानो प्रिन्टमा प्रकाशित समाचार )

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter