काठमाडौं, कात्तिक २२/ अमेरिकाको भर्जिनियाको हर्नडन नगर परिषदको निर्वाचनमा नेपाली मुलका प्रदीप ढकाल विजयी हुनु भएको छ । मध्यावधि निर्वाचनमा ६ जना काउन्सील सदस्यको लागि भएको चुनावमा ढकालले पाँचौं स्थान हासिल गरी विजयी हुनु भएको हो ।

१२ हजारभन्दा बढी मतदाता संख्या रहेको सो क्षेत्रबाट उहाले खसेको ७ हजार ४ मत मध्येबाट ३ हजार ८३ मत प्राप्त गर्नु भएको थियो। ६ जना परिषद सदस्यका लागि १० जना चुनावी मैदानमा थिए। यी मध्ये एशियाली अमेरिकी मूलका ढकाल मात्र उमेदवार हुनुहुन्थ्यो भने मतदातामा आप्रवासी समुदायबाट धेरै कम संख्या थियो। त्यसमा पनि नेपाली मुलका मतदाताको संख्या केवल ७० जना मात्र थियो।

विजेतामध्ये ढकाल बाहेक सबैले यहाँका राजनीतिक दलको समर्थन लिएका थिए भने ढकालले स्वतन्त्र हैसियतमा चुनावमा भाग लिनु भएको थियो । नेपालको झापामा जन्मिनु भएका ढकाल १२ बर्ष अघि अमेरिका आई भर्जिनियाको हर्नडनमा स्थायी रुपमा बस्दै आउनु भएको छ । हर्नडन नगरलाई आर्थिक रुपले दीगो र सम्पन्न बनाउन आफूसँग नयाँ सोच र धारणा भएकाले मतदाताले विश्वास गरी विजयी बनाएको ढकालको भनाइ छ।

मेरिल्याण्ड राज्यबाट नेपाली मुलका हरि भण्डारी राज्य सभासद पदमा निकै राम्रो मत ल्याएर विजयी भइसक्नु भएको छ । यसअघि मेरिल्याण्डको इण्डियन हेड नगरमा किरण सीटौला उपमेयरमा र भर्जिनियाको प्रीन्सवीलियमको हेमार्केट नगर परिषद सदस्यमा मधु पन्थीले विजय हासिल गरेका थिए।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter