काठमाडौँ, १५ मङ्सिर / पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एशिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख चुनौती बनेको बताउनुभएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले सम्मेलनमा सहभागी मुलुकले द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । हाल पूर्व विकास र अर्थतन्त्रको केन्द्र बनेको र विश्व पूर्वतर्फ सर्दै गइरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रका जनताका लागि सम्पर्क सञ्जाल निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

समुद्रसम्मको पहुँच उनीहरूका लागि आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “‘बेल्ट एण्ड रोड’ प्रयासमा पाकिस्तान प्रवेश गरेको छ र यसले बन्दरगाह, आर्थिक क्षेत्र तथा सम्पर्क सञ्जालको विकास गर्छ ।”

आतङ्कवाद र कट्टरपना आफैँमा समस्या भएको टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री गिलानीले यो पाकिस्तानको मात्र समस्या होइन भन्नुभयो । उहाँले भन्नुभयो, “राम्रो तालिवान वा आतङ्कवादी भन्ने हुँदैन आतङ्कवादी आतङ्कवादी नै हो । पाकिस्तानले पनि यसका लागि निकै मूल्य तिरेको छ । पचहत्तर हजार पाकिस्तानीले ज्यान गुमाएका छन् र पाकिस्तानले ३५ लाख शरणार्थीलाई शरण दिएको छ । मेरो आफ्नै छोरा पनि आतङ्कवादीबाट अपहरणमा परेका थिए ।” उहाँले नेपालको सुन्दरता, प्रकृति तथा नेपाली जनताको मिल्न सक्ने क्षमता आकर्षक भएको बताउनुभयो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter