काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक मोतिलाल बोहराले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले बिहीवार बोहरालाई सफाइ दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय सारदा प्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले विशेष अदालतको फैसला उल्टाउँदै बोहरालाई सफाइ दिएको हो ।

विशेष अदालतले २०६८ सालमा बोहरालाई अकूत सम्पत्ती आर्जनको मुद्दामा दोषी ठहर गर्दै २६ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवानासहित डेढ वर्ष कैद सजाय सुनाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहराले आर्जन गरेको ४ करोड ३८ लाख ९२ हजार ५ सय ६ रुपैयाँबराबरको सम्पत्तिमध्ये २ करोड ३८ लाख २३ हजार ६ सय २७ रुपैयाँको स्रोत खुल्न नसकेको दाबी गर्दै अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका तत्कालीन न्यायाधीशहरू गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले बोहरालाई दोषी ठहर गरेको थियो ।

अख्तियारले बोहराविरुद्ध २०६१ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतका तत्कालीन न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलाशले हदम्याद नाघेको भन्दै मुद्दा खारेज गरिदिएको थियो ।

अख्तियारले बोहराको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन हालेकोमा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश कल्याण श्रेष्ठको संयुक्त इजलाशले विशेष अदालतबाटै दोर्होयाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि पुनः सुनुवाइ शुरू भएकोमा विशेष अदालतले बोहरालाई दोषी ठहर गरेको थियो । तर, मागदावी अनुसार फैसला नआएपछि बोहरालाई थप जरिवानासहित सजायको माग गर्दै २९ कात्तिक २०६९ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
kendrabindu.com बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter